फालेलुङ संरचनामा भारतीय अवरोध : निर्माणको काम अलपत्र

वैशाख २७ गते नक्सा बोकेरै आएको एसएसबी टोलीले सो ठाउँमा संरचना बनाए भत्काउने चेतवानी दिएको थियो ।
आनन्द गौतम

ताप्लेजुङ — भारतीय पक्षको अवरोधका कारण पाँचथरको फालेलुङ गाउँपालिकास्थित आहालमा बनाउन लागिएको संरचनाको काम अलपत्र परेको छ । नयाँ नक्साअनुसार उक्त क्षेत्र आफ्नो देशको भन्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध पुर्‍याएपछि निर्माणको काम रोकिएको हो ।

फालेलुङ संरचनामा भारतीय अवरोध : निर्माणको काम अलपत्र

निर्माणको जिम्मेवारी लिएका कबुलियती वनका पदाधिकारीहरु समन्वयका लागि सदरमुकाम फिदिम धाइरहे पनि यसबारे निर्णय हुन सकेको छैन । बजेट विनियोजन गरेको डिभिजन वन कार्यालयले संरचना बन्ने क्षेत्र इलाम जिल्ला भएको बताउन थालेको छ ।

उपभोक्ता समितिका अध्यक्ष नरबहादुर खपांगी मगरका अनुसार करिब ३ लाख बराबरको गिटी, बालुवा, टिन, रड, काठजस्ता सामान खरिद भइसकेको छ । तर बजेट विनियोजन गर्ने निकाय डिभिजन वन कार्यालयसहित जिल्ला प्रशासन र गाउँपालिकाले समेत उपभोक्ता समितिलाई कुनै निर्णय दिएका छैनन् । ‘हामीले सामान किनेका छौं, लगानी पनि भइसक्यो,' उनले भने, ‘समन्वय समिति प्रमुख, सिडिओ सा'ब, डिभिजन वन, गाउँपालिकाले के भन्छ, त्यसैको प्रतीक्षामा छौं ।’ यहाँ पर्यटन संग्रहालय स्थापनार्थ भवन निर्माणका लागि १० लाख रुपैयाँ छुट्याइएको उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा गुरागाई यसको निर्णय आफूहरुले नभएर नेपाल सरकारले गर्ने बताउँछन् । ‘एउटा प्रतिवेदन बनाएर माथि (गृह मन्त्रालय) पठाएका छौं,’ उनले भने, ‘अहिले त त्यहाँ काम गर्ने कुरा भएन, माथिबाटै के निर्णय आउँछ ।’

अन्त संरचना बनाउँदा हारेजस्तो हुने र त्यहीँ बनाउँदा अवरोध हुन सक्ने भएकाले प्रशासनले तत्काल काम नगर्न समितिलाई संकेत गरेको उपभोक्ताहरु बताउँछन् । डिभिजन वन कार्यालयका अधिकृत दानवहादुर श्रेष्ठ बनाउन लागिएको भूभाग पाँचथरको नभएर इलामको पर्ने भएकाले भुक्तानी दिन पनि समस्या हुने बताउन थालेका छन् । ‘अब केही समय पर्खिनु भनेको छ ।

खनेको ठाउँ पनि इलाम पर्दिएछ,' उनले भने, 'हुन त नेपाल नै हो तर पनि इलाममा पर्ने भएकाले भुक्तानी दिन नमिल्ने भयो ।' उपभोक्ता समितिका अध्यक्ष मगर भने सो ठाउँ इलाम जिल्लामा नपर्ने बताउँछन् । ‘इलामपट्टि धनेपा सामुदायिक वन छ । त्यो वनले आफ्नो क्षेत्र छुट्याइसकेको छ ।’

यहाँ सन्तपुर आहाल चौंरीपालक समूहले काम गर्न लागेको थियो । एसएसबीले जंगे पिलरभन्दा एक सय मिटरभित्रको नेपाली भूभाग आफ्नो भनेपछि स्थानीय असन्तुष्ट छन् । अवरोधपछि गएको फालेलुङ गाउँपालिकाको टोलीले जिल्ला प्रशासन कार्यालय पाँचथरमा नेपाली भूमि नै भएको प्रतिवेदन बुझाइसकेको छ । नेपाल विद्यार्थी संघको टोलीले त्यहाँ पुगेर विरोध गर्नुका साथै नेपालको झन्डा गाडेर फर्किएका थिए ।

२०७७ वैशाख २४ गतेबाट यहाँ भवन निर्माणको काम सुरु भएको थियो । २७ गते नक्सा बोकेरै आएका भारतीयले अवरोध पुर्‍याए । त्यसपछि गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ, ४ नम्बर वडाका अध्यक्ष बुद्धिमान सावदेन, ५ का जीवनकुमार राई, सशस्त्र प्रहरी नायव निरीक्षक यज्ञबहादुर बस्नेत, इलाका प्रहरी कार्यालय मच्छेबुङका प्रमुख सोमनाथ ढुंगाना, प्राङबुङ प्रहरी चौकीका प्रमुख मिलनकुमार श्रेष्ठ, स्थानीय लालकुमार खपांगी र शिल्पकुमार राईको टोलीले उक्त क्षेत्रमा पुगेर अनुगमन तथा भारतीय सुरक्षाकर्मीसँग छलफल गरेको थियो ।

छलफलमा पनि भारतको नयाँ नक्साअनुसार एक सय मिटरसम्म भारतको भूमि रहेको र संरचना बनाए भत्काउने एसएसबीले प्रतिक्रिया दिएको गाउँपालिका अध्यक्ष केरुङले बताए । त्यसपछि गाउँपालिकाले सम्पूर्ण विवरण उल्लेख गरेर जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

पाँचथरको फालेलुङ गाउँपालिका-६ र इलामको सन्दकपुर गाउँपालिका-२ जोडिने यो क्षेत्र भारतसँग सिमाना जोडिएको छ । गाउँपालिकाका अनुसार यहाँ ५७/३ नम्बरको सानो तथा ५८/९ नम्बरको जंगे पिलर रहेको छ । नजिकै रहेको ५७/४ नम्बरको सहायक पिलर गायब पारिएको स्थानीय शिल्पकुमार राईले बताए ।

प्रकाशित : जेष्ठ २९, २०७७ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?