२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

प्रदेश १ का नयाँ ठाउँमा संक्रमित थपिँदै

माधव घिमिरे

विराटनगर — शंकास्पद संक्रमित व्यक्तिको स्वाब नमुना परीक्षण गर्दा प्रदेश १ का थप नयाँ स्थानमा संक्रमण पाइएको छ । पीसीआर परीक्षणका क्रममा सुनसरी सदरमुकाम इनरुवा, झापाको अर्जुनधारालगायत स्थानका व्यक्तिमा संक्रमण पाइएको हो ।

प्रदेश १ का नयाँ ठाउँमा संक्रमित थपिँदै

सुनसरीको इनरुवाका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिकामा एक जना महिला संक्रमित थपिएकी छन् । यसैगरी आइतबार पुष्टि भएकामा मोरङको रतुवामाईका दुई जना पुरुष छन् ।

यस्तै झापाको अर्जुनधाराका दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । उदयपुरको बेलका नगरपालिकाका एक महिला र एक पुरुष, चौदण्डीगढी नगरपालिकाका एक जना पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

पछिल्लो पटक संक्रमण पुष्टि भएकामध्ये चार जनालाई विराटनगरस्थित कोभिड उपचार केन्द्रमा र ८ जनालाई मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरिएको जनाइएको छ ।

प्रदेश १ को झापामा सबैभन्दा बढी संक्रमित पुष्टि भएका छन् । कचनकवल, अर्जुनधारा, भद्रपुरलगायत स्थानका गरी १ सय ३८ जनामा संक्रमण देखिएको छ ।

उदयपुरमा हालसम्म ३६ जनामा संक्रमण पाइएको छ । यसैगरी सुनसरीका ४१ जनामा संक्रमण पुष्टि भएको छ भने मोरङका संक्रमितको संख्या १९ पुगेको छ ।

धनकुटाका ८, भोजपुरका ६, खोटाङका ४, खोलुखुम्बुका १, संखुवासभामा २, तेह्रथुमका २ जनामा संक्रमण पुष्टि भएको प्रदेश सरकारले जनाएको छ ।

संक्रमितमध्ये ९० जना उपचारपछि डिस्चार्ज गरिएका छन् । आइसोलेसनमा रहेकाको संख्या अब १ सय ५७ रहेको प्रदेश सरकारले जनाएको छ । संक्रमितहरुमा अधिकांश भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेकाहरु रहेको पाइएको छ ।

प्रदेश १ मा आइतबार साँझसम्म गरी ११ हजार २ सय ५४ जनाको स्वाब नमुना पीसीआर विधिबाट गरिएको छ । तीमध्ये २ सय ५७ जनामा कोरोना पोटिजिभ देखिएको प्रदेश सरकारले जनाएको छ । परीक्षण गरिएकामध्ये ९ हजार ५ सय ५५ जनामा संक्रमण नदेखिएको जनाइएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित कोसी अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण भइरहेको छ । यसैगरी प्रदेशभर आरडीटी विधिबाट परीक्षण गरिएकाको संख्या १३ हजार ३ सय ३९ रहेको जनाइएको छ ।

प्रकाशित : जेष्ठ २६, २०७७ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?