कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

बाढीले बगाएको सिँचाइ योजना मर्मत गर्न ३० करोड

विनोद भण्डारी

विराटनगर — मोरङका लोहन्द्र खोलापूर्वका किसानले कोसी नदीको पानीले खेती गर्न अझै तीन वर्ष पर्खनुपर्ने भएको छ । २०७२ सालको भीषण बाढीले उक्त खोलामा पर्ने सुनसरी–मोरङ सिँचाइ योजनाको मूल नहरको साइफन र पुल बगाउँदा मोरङको १४ हजार हेक्टर जमिन सिँचाइविहीन भएको थियो ।

बाढीले बगाएको सिँचाइ योजना मर्मत गर्न ३० करोड

सिँचाइ विभागले साइफन र पुल निर्माणका लागि स्वामीनारायण निर्माण सेवालाई २९ करोड ९७ लाखमा ठेक्का दिएको छ । सम्झौतामा साढे तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको योजनाप्रमुख आनन्दप्रसाद धामीले बताए ।

योजनाको मूल नहरमा २१५ मिटर लामो साइफन र १६५ मिटर दुई लेनको पुल बनेपछि योजनाबाट सुनसरी र मोरङको ६८ हजार हेक्टरमा सिँचाइ पुग्नेछ ।

पुल र साइफन बगेपछि योजनाले दुई वर्षअघि प्रधानमन्त्री कृषि कार्यक्रमको १ करोड ५० लाखको लागतमा लोहन्द्रा खोलाको पानी मूल नहरमा लगिएको थियो । लोहन्द्राको साइफनदेखि करिब ५ किमि उत्तरबाट अस्थायी नहर खनेर करिब ५ क्युमेक्स पानी मूल नहरमा लगिए पनि भरपर्दो सिँचाइ हुन सकेको छैन । त्यसका लागि वर्षायाममा उक्त अस्थायी नहरमा पानी नियन्त्रण गर्ने र छाड्ने ‘हेड रेगुलेटर’ निर्माण गरिएको थियो ।

समृद्ध तराई–मधेस सिँचाइ विकास कार्यक्रमले मुहानमा हेडबक्स निर्माण गरेर उक्त अस्थायी योजनालाई स्थायी बनाउने तयारी गरेको थियो । कुल ५३ किलोमिटर लामो मूल नहरका विभन्न स्थानमा क्यानेल र साइफन बाढीले बगाउँदा करिब ७० करोडबराबरको क्षति पुर्‍याएको थियो । त्यसमध्ये करिब १२ करोडको लागतमा केही स्थानमा आपत्कालीन मर्मत र पुनर्निर्माण गरेर लोहन्द्रा खोलासम्म योजनाले पानी सञ्चालन गर्दै आएको छ ।

योजनाले बर्खायाममा ६० क्युमेक्स र हिउँदमा ३० क्युमेक्स पानी छाड्दै आएको छ । लोहन्द्राको बाढीले साइफन बगाएपछि त्यसपूर्वका बरियाती, रञ्जनी, चिसाङ, नयाँपट्टी, आमझोरा र झमनपुर शाखा नहरमा कोसीको पानी बगेको छैन । योजनाका २१ वटा शाखा नहर छन् । तीमध्य सुनसरीमा १२ र मोरङमा ९ वटा पर्छन् ।

भारतले २०२४ सालमा निर्माण गरेर २०३५ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेको योजनाका सबै संरचनाको आयु सकिइसकेको छ । सरकारले हरेक वर्ष करोडौं रुपैयाँ खर्च गरेर मुलुककै ठूलो सिँचाइ योजना टालटुल गरेर सञ्चालन गर्दै आएको छ ।

प्रकाशित : जेष्ठ २६, २०७७ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?