१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

विराटनगरमा बजार खुले पनि ग्राहक आएनन् 

विनोद भण्डारी

विराटनगर — लकडाउनको ७२ दिनपछि विराटनगर बजार खुला भए पनि पसलमा ग्राहक नआउँदा व्यापारी निराश छन् । पसल खोल्ने र बन्द गर्ने काम मात्रै भएको उनीहरू बताउँछन् ।

विराटनगरमा बजार खुले पनि ग्राहक आएनन् 

‘लामो समय बन्द रहेको पसल खोल्न पाए हुन्थ्यो भन्ने थियो,’ सर्टिङसुटिङ कपडाका कारोबारी विनोद बोहराले भने, ‘पसल त खुल्यो तर तीन दिन भयो एउटा पनि ग्राहक आएका छैनन् ।’

लकडाउनका कारण चैत ११ देखि बन्द विराटनगर बजार गत बिहीबारदेखि दिउँसो १२ बजेसम्म खुला हुँदै आएको छ । सीमावर्ती भारतीय बजार जोगबनीको प्रभाव खेप्दै आएको विराटनगरको व्यापार नाका बन्द हुँदा लयमा फर्कने विश्वास गरिएको थियो । ‘तर यातायात बन्द हुँदा ग्राहकको आगमन पनि ठप्प हुँदो रहेछ,’ कपडा व्यवसायी संघका अध्यक्षसमेत रहेका बोहराले भने ।

तीन महिनादेखि आर्थिक कारोबार ठप्प हुँदा ग्राहकको क्रयशक्ति घटेको र अहिले सबैको चासो गाँसको जोहो गर्नेमै रहेको उनको बुझाइ छ । त्यसैले अहिले बजारमा कपडाभन्दा खाद्यान्नको कारोबार बढी रहेको बोहराले बताए ।

सामान्य अवस्थामा राम्रै व्यापार गर्ने अम्बिका वस्त्रालयमा पनि बजार खुलेको तीन दिनसम्म कारोबार नै भएको छैन । यातायात बन्द हुँदा नगरबाहिरका ग्राहक आउन पाएका छैनन् । ‘नगरभित्रका उपभोक्ताले मात्र विराटनगरको व्यापार चल्ने अवस्था छैन,’ वस्त्रालयका सञ्चालक प्रदीप अग्रवालले भने ।

रोगले भन्दा भोकले सर्वसाधारण मर्ने स्थिति आएको भन्दै महानगरस्तरीय सीसीएमसी, महानगरपालिका, उद्योग संगठन, मोरङ व्यापार संघ र विराट व्यापार संघको पहलमा विहीबारदेखि दिउँसो १२ बजेसम्म बजार र दुई बजेसम्म बैंक खुला भएको हो । शिक्षण संस्था, ब्युटिपार्लर, सिनेमा हल, होटल, पार्टी प्यालेस, सैलुनबाहेकका पसल बिहीबारदेखि सामाजिक दुरी र स्वास्थ्य मापदण्ड अपनाएर खुला गरिए पनि खाद्यान्नबाहेकका पसलमा उपभोक्ता छैनन् ।

बजार खुल्ने समय पायक नपरेकाले पनि उपभोक्ताको चहलपहल न्यून भएको व्यवसायीको गुनासो छ । उक्त समयमा बाहिरका उपभोक्ता साना सवारीसाधनमा विराटनगर आएर फर्कन सक्ने स्थिति छैन । ‘बिहान १० देखि दिउँसो २ बजेसम्म बजार खुला गरिए उपभोक्ताको चहलपहल केही बढ्ने थियो,’ व्यवसायी अग्रवालले भने, ‘दिउँसो १२ बजेसम्म पसल खुला गर्दा कोरोना नलाग्ने तर दिउँसो २ बजेसम्म खुला गर्दा कोरोना लाग्ने कस्तो बुझाइ ?’

बजार खुला गर्न सफल भए पनि उपभोक्ताको अभावमा आर्थिक कारोबार हुन नसकेको विराट व्यापार संघका अध्यक्ष सुजन थापाको भनाइ छ । ‘बिहान ९ देखि दिउँसो २ बजेसम्म बजार खुला गर्दा केही आर्थिक कारोबार हुन्थ्यो,’ उनले भने, ‘तर स्थानीय प्रशासनले उक्त समयमा बजार खुला गर्न स्वीकृति नदिँदा अत्यावश्यक उपभोग्य वस्तुका बाहेक अन्य पसलवालालाई कुनै अर्थ भएन ।’

खुद्रा व्यापार संघका पूर्वअध्यक्ष सञ्जय मण्डलले ७२ दिनपछि पसल खोल्दा आर्थिक कारोबार हुने र कामदारलाई तलब खुवाउन पुग्ने विश्वास गरेका थिए । तर दैनिक हजार रुपैयाँको पनि कारोबार नहुँदा उनी निराश छन् । ‘पसल त खुल्यो,’ उनले भने, ‘तर उपभोक्ता नै छैनन् ।’

प्रकाशित : जेष्ठ २५, २०७७ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?