१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विराटनगरका पसल खुल्न थाले

विनोद भण्डारी

विराटनगर — सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेसँगै बन्द भएका विराटनगरका पसल बिहीबार बिहानदेखि सञ्चालनमा आएका छन् ।लकडाउनको अवज्ञा हुने स्थिति आएपछि बाध्य भएर बजार खोल्नु परेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । 

विराटनगरका पसल खुल्न थाले

महानगरस्तरीय सीसीएमसी, महानगरपालिका, उद्योग संगठन, मोरङ व्यापार संघ र विराट व्यापार संघबीच दिउँसो १२ बजेसम्म बजार र दुई बजेसम्म बैंक खोल्ने सहमति भएको हो ।

शिक्षण संस्था, ब्युटी पार्लर, सिनेमा हल, होटल, पार्टी प्यालेस, शैलुन बाहेकका सबै पसल बिहीबारदेखि मध्यान्ह १२ बजेसम्म सामाजिक दूरी कायम गरी र स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर खुला भएको अध्यक्ष घिमिरेले बताए ।

बुधबार जिल्ला प्रशासन कार्यालय मोरङमा कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको बैठकमा केन्द्रीय कमिटीको निर्णय नआएसम्म औपचारिक निर्णय गर्न नसकिने प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताएका थिए । तर स्थानीय जनप्रतिनिधि र सरोकारवाला संघ संस्थाका प्रतिनिधिले लकडाउन नखोले आम जनताको दैनिकी नै प्रभावित भइसकेको र बजार खुला नगरे समस्या झनै विकराल हुने बताउदै खोल्नुपर्ने अडान राखेपछि अनौपचारिक रुपमा खोल्ने सहमति बनेको थियो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुललीले स्वास्थ्य सतर्कता अपनाएर खोल्ने सहमति भएको र त्यसको अनुगमन जिल्ला प्रहरी कार्यालय र महानगरले गर्ने सहमति बनेको बताएका थिए ।

विराट व्यापार संघका अध्यक्ष सुजन थापाले विराटनगर बजार बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म खुलेको तर बजारमा चहलपहल भने न्यून रहेको बताए । बजार खुले पनि पहिलेको जस्तो चहलपहल हुने अवस्था नभएको थापाको भनाइ छ । ‘कोरोनाको डर ग्राहकलाई पनि छ । त्यसैले भीडभाडमा जान हुन्न दूरी कायम राख्नुपर्छ भन्ने जानेर नै बजारमा ग्राहकको भीड कम भएको छ,’ थापाले भने ।

प्रकाशित : जेष्ठ २३, २०७७ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?