कोरोना मुक्त भएका ३० जना डिस्चार्ज

देवनारायण साह

मोरङ — प्रदेश १ मा बिहीबार ३० जना संक्रमित कोरोनामुक्त भएर अस्पताबाट डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका २७ जना कोरोना मुक्त भई डिस्चार्ज भएका हुन् भने तीनजना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

डिस्चार्ज हुनेमा उदयपुरका एक पत्रकार र धनकुटाका चार स्वास्थ्यकर्मीसमेत छन् । उदयपुरका एक महिला र दुई पुरुष, झापाका ७ पुरुष, मोरङका एक महिलासहित ६ जना, सुनसरीका ४, धनकुटाका २ महिला र दुई पुरुष, खोटाङका एक पुरुष र सप्तरीका २ जना पुरुष गरी २७ जना डिस्चार्ज भएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले बताइन् । प्रदेश १ मा संक्रमित भई निको हुनेको संख्या ७६ पुगेको छ ।

ओखलढुंगा र इलामबाहेक प्रदेश १ का १२ जिल्लामा संक्रमितको संख्या २ सय १ पुगेको छ । संक्रमितको उपचारका लागि सुन्दरहरैंचाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा समेत कोरोना भाइरसको संक्रमितको उपचार सेवा सुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । प्रदेश १ को कोसीमा ७०, गोठगाउँमा १ सय ३५ र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ सय गरी ४ सय ५ शैय्याका कोरोना अस्पताल सञ्चालनमा ल्याइएको छ ।

प्रकाशित : जेष्ठ २२, २०७७ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्

हवाइ भाडा ११ सयसम्म घट्यो

सुरज कुँवर

काठमाडौँ — नेपाल आयल निगमले हवाई इन्धनमा प्रति लिटर १५ रुपैयाँ र सरकारले बजेटमार्फत प्रति लिटर १० रुपैयाँ पूर्वाधार कर हटाएपछि हवाइ भाडा अधिकतम  ११ सय ५ रुपैयाँसम्म घटेको छ । 

सर्वाधिक आन्तरिक उडान गर्दै आएको बुद्ध एयरले कम्तीमा २ सय २५ देखि ११ सय ५ रुपैयाँसम्म हवाई भाडामा लिइने फ्यूल चार्ज घटाएको हो । उसले सबभन्दा बढी काठमाडौं–धनगढी र सबैभन्दा कम काठमाडौं–सिमरामा २ सय २५ रुपैयाँ घटाइएको जनाएको छ ।

बुद्धले लकडाउनमा केहि चार्टर उडान भएपनि खुलेलगत्तै उडानका लागि व्यापक तयारी भइरहेको जनाएको छ ।

यस वायुसेवा कम्पनीले कोभिड–१९ पछि संक्रमणबाट सुरक्षित रहनका लागि नागरिक उड्डयन प्राधिकरणले दिएको मापदण्ड अनुसार, ‘सुरक्षा निर्देशिका’पनि ल्याइसकेको छ । रक्षा निर्देशिकाले यात्रु, कर्मचारी, जहाजको विशेष सरसफाई, र्‍याम्पबस, कर्गो ट्रली, काउण्टर तथा कार्यस्थललाई कसरी भाइरसबाट सुरक्षित राख्‍ने उल्लेख गरेको छ ।


सुरक्षा निर्देशिका अनुसार बुद्ध आउने सातादेखि आफ्ना कर्मचारीहरुलाई तालिम प्रदान गरिने जनाएको छ । तालिम सकिएपछि बुद्धले उडानपूर्व अनिवार्य गरिने अभ्यास पनि गर्ने जनाएको छ ।

बुद्धले वायुसेवा संचालक संघमा भाडा घटाएको जानकारी गराउदै संघका प्रवक्ता योगराज कडेलले अरु वायुसेवा कम्पनीले घटाएको भाडा दर बुझाइनसकेको बताए ।

प्रकाशित : जेष्ठ २२, २०७७ १७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×