कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'सर्वसाधारणहरु रोगले भन्दा भोकले मर्ने अवस्था आयो' 

देवनारायण साह

मोरङ — प्रदेश १ का  प्रदेशसभा सदस्यहरुले कोरोना भाइरसको महामारी र लामो लकडाउनले हातमुख जोड्न समस्या भएका मजदुर तथा विपन्न वर्गका लागि तत्काल राहत प्रदान गर्न प्रदेश सकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभा सदस्य रामचन्द्र लिम्बुले लकडाउन लामो समय लम्बिएको अवस्थामा सर्वसाधारण रोगले भन्दा भोकले मर्ने अवस्था आएको बताए । उनले यसप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराए । ‘सर्वसाधारणले रोजगारी गर्न नदिए खाने व्यवस्था गर्न माग गरिरहेका छन्,’ उनले भने, ‘यस प्रदेशमा हालसम्म कोही भोकले मरेको छैन तर अब विपन्न मजदुरहरुको त्यो अवस्था नआउँला भन्न सकिन्न ।’

प्रतिपक्षी दल समाजवादीका नेता जयराम यादवले कोरोना भाइरसको महामारी र लगातारको लकडाउनले रोजगारीमा जान नसकेका विपन्न मजदुरहरुका परिवार भोकभोकै बस्नुपर्ने अवस्था निर्माण भएकोप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘विपन्न मजदुर परिवारहरुलाई यसअघि स्थानीय तहहरुले पहिलो चरणको राहत वितरण गरेका छन्,’ उनले भने, ‘स्थानीय तहको राहतले दुई सातापनि छाक टार्न नपुग्ने भएकाले विपन्न वर्ग मार्कामा परेका छन् ।’

प्रदेश सरकारले महानगरपालिकालाई २० लाख, उपमहानगरलाई १५, नगरपालिकालाई १० र गाउँपालिकालाई ५ लाखको दरले साढे ९ करोड पठाएको थोरै बजेट भएको भन्दै स्थानीय तहहरुले राहत वितरण नगरेकोप्रति यादवले सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले तोकेको मापदण्ड अनुसारको तत्काल दुई महिना पुग्ने राहत प्याकेज ल्याउन उनले माग गरे ।

यसअघि मुख्यमन्त्री शेरधन राईले दोस्रो चरणको राहत प्याकेज ल्याउने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित : जेष्ठ २०, २०७७ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?