१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भुल्केमा हट्दै कोरोना त्रास

संक्रमितहरू निको हुँदै गएको र नयाँ संक्रमित नभेटिएपछि स्थानीय ढुक्क छन् । उनीहरू नियमित काममा फर्कन थालेका छन् ।
डिल्लीराम खतिवडा

उदयपुर — संक्रमितहरू निको हुँदै गएको र नयाँ संक्रमित नभेटिएपछि त्रियुगा नगरपालिका–३ भुल्केमा जनजीवन सामान्य बन्दै गएको छ । स्थानीयहरू कोरोनाको त्रासबाट बाहिर निस्केर दैनिक काममा भुल्न थालेका छन् ।

भुल्केमा हट्दै कोरोना त्रास

डेढ महिनाअघि प्रदेश १ मै पहिलोपटक यहाँ एकैचोटि एक दर्जन संक्रमित भेटिएका थिए । पछि थपिएर ३२ जना पुगे । कोरोना निको भएकाहरू अहिले ढुक्क छन् । ‘कोरोना लाग्यो, उपचार गरेपछि निको पनि त भयो नि,’ ४१ वर्षीय साविर मियाँले भने, ‘पहिले पनि केही लक्षण थिएन, अहिलेजस्तै त थिएँ ।’ उनले आफ्नो उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई ‘सुक्रिया’ व्यक्त गरे ।

भुल्केमा पहिलोपटक गत वैशाख ५ गते भेटिएका जमाती र अन्य संक्रमितसमेत गरी २७ जना निको भइसकेका छन् । ६ जनाको उपचार जारी छ । उनीहरू पनि चाँडै निको भएर फर्किनेमा स्थानीय ढुक्क छन । भुल्केमा ३२ र गाईघाटमा एक सञ्चारकर्मी गरी जिल्लामा ३३ संक्रमित थिए । अहिले नयाँ संक्रमित नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहनप्रसाद सुवेदीले बताए । ‘भुल्के कोरोनामुक्त भएको छ,’ उनले भने, ‘प्रदेश १ मै पहिलोपटक संक्रमित भुल्के पहिलोपटक मुक्त पनि भएको छ ।’

संक्रमणकै कारण भुल्केवासी सचेत पनि भएका छन् । त्यसैले बाहिरबाट आएकाहरूसँग हेलमेल गरिहाल्दैनन् । घरभित्रै पनि सामाजिक दुरी कायम गर्ने गरेको स्थानीय अनिस मियाँले बताए । ‘निको भएर आएकाहरू पनि काममा फर्किएका छन्,’ उनले भने, ‘सबै आफ्नो खेतबारीमा काम गर्न जाँदै छन् ।’ कोरोनाकै कारण स्थानीयले तरकारी खेती स्याहार्न पाएनन् । अहिले त्यसलाई हटाएर नयाँ खेतीमा जुटेका छन् । धानको बीउ राख्दै छन् ।

जनस्वास्थ्य विज्ञहरूका अनुसार भुल्केमा संक्रमित भेटिनासाथ आइसोलेसनमा राख्ने र सम्पर्कमा रहेकाको ट्रेसिङ गरिएकाले संक्रमण थप फैलन पाएन । स्थानीय नुरी मस्जिदमा बसेका जमाती चैतको ४ र ५ गते आएका थिए । भारतबाट केही विद्यार्थी पनि फर्किएका थिए । जब आरडीटी सुरु भयो, उनीहरूलाई बाहिर निस्कन दिइएन ।

कोरोना संक्रमण पुष्टि भएपछि त्यो क्षेत्र सिल गरियो । संक्रमितको परिवारका सबै सदस्य र अरू परिवारका प्रत्येक घरबाट बढी बाहिर हिँड्ने एक जनाका दरले परीक्षण गरियो । केहीलाई घरमा र केहीलाई बाहिर क्वारेन्टाइनमा राखियो । सामाजिक दुरी कायम गरियो । निको भएर आएकालाई पनि क्वारेन्टाइनमा राखियो । यी सबै कारणले गर्दा भुल्केमा छोटो समयमै कोरोना नियन्त्रण गर्न सफल जिल्ल स्वास्थ्य प्रमुख सुवेदीले बताए ।

प्रकाशित : जेष्ठ २०, २०७७ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?