२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

होम क्‍वारेन्टाइनमा बसेकाको घरमा रातो झण्डा राखेपछि आलोचना

अर्जुन राजवंशी

बिर्तामोड — होम क्‍वारेन्टाइनमा बसेकाको घरमा रातो झण्डा राख्‍न थालेपछि बिर्तामोड नगरपालिकाको आलोचना भएको छ । मुलुक बाहिरबाट आएका तथा कोरोना भाइरसको आशंका गरिएकाको घरमा नगरपालिकाले रातो झण्डा राखेको हो ।

विभिन्‍न वडामा गरि नगरपालिकाले २० वटा घरमा झण्डा राखिसकेको छ । होम क्‍वारेन्टाइनमा बसेका तथा सम्भावित संक्रमितको घरमा संकेतका लागि झण्डा राख्‍न थालिएको नगरपालिकाका कोभिड–१९ रोकथाम तथा नियन्त्रण संयन्त्रका स्वास्थ्य संयोजक ओम खड्काले बताए ।

झण्डा राखिएका घरका सदस्यहरुको १४ दिनभित्र कोरोना परीक्षण गर्ने तथा रिपोर्ट नेगेटिभ आए झण्डा निकाल्ने कार्ययोजना रहेको उनको भनाइ छ । तर, झण्डा राखेकोप्रति नगरबासीहरुले सामाजिक सञ्‍जाल मार्फत विरोध जनाएका छन् ।

उनीहरुले रातो झण्डा राख्दा उक्त घर गाउँ–बस्ती तथा छिमेकीबाट विभेदमा पर्ने भन्दै आलोचना भएको हो ।मानवअधिकार सञ्जाल झापाका अध्यक्ष विष्णु खरेलले कोरोना महामारीलाई लक्षित गरि नागरिकको घरमा संकेत स्वरुप झण्डा राख्नु अन्तर्राष्ट्रिय मानवीय कानून, नेपालको संविधान विपरीत भएको बताए ।

उनले नगरपालिकाको उक्त कार्य तत्काल सच्याउन आग्रह गरे । झण्डा राख्‍ने कार्य विभेद र अपहेलनासँगै नागरिकको सम्मानपूर्वक बाँच्‍न पाउने हकको हनन् भएको उनको तर्क छ ।

महिला अधिकारकर्मी अधिवक्ता कविता शर्माले नागरिकको घरमा खतराको प्रतिक रातो झण्डा राखिदा त्यसले आम नागरिकसँगै महिला तथा बालबालिकाको मानसिकतामा गम्भीर प्रभाव पार्ने बताइन् । यसले नागरिकको गोपनीयताको हक हनन् गर्नुकासाथै समुदायमा त्रास बढाउने दाबी गरिन ।

झण्डा राख्ने कार्यको आलोचना बढेपछि नगरपालिकाले त्यसको विकल्प खोज्ने तयारी गरिरहेको नगर उपप्रमुख पवित्रा महतारा प्रसाईले बताइन । होम क्‍वारेन्टाइनमा बसेकालाई सुरक्षित रहन तथा स्वास्थ्यकर्मीको सहजताका लागि झण्डा राख्‍न थालेको उनको भनाइ छ । नगरबासीबाट आलोचना हुन थालेपछि झण्डा राख्‍ने कार्यको उपयुक्त विकल्प खोजिरहेका उनले बताइन् ।

प्रकाशित : जेष्ठ १९, २०७७ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?