१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

महसुल बढाइएपछि भन्सारमै थन्कियो गहुँ

९ प्रतिशत भन्सार शुल्क तिरेर गहुँ ल्याउनुभन्दा सोझै आँटा र मैदा नै ल्याउँदा सस्तो पर्ने उद्योगीको भनाइ
विनोद भण्डारी

विराटनगर — नयाँ बजेटमा भन्सार महसुल बढाइएपछि औद्योगिक प्रयोजनका लागि आयात गरिएको गहुँ विराटनगर भन्सारमै रोकिएको छ । सुनसरी मोरङ औद्योगिक क्षेत्रका मैदा मिलले आयात गरेको २६ ट्रक गहुँ तीन दिनदेखि त्यहीँ राखेका हुन् ।

महसुल बढाइएपछि भन्सारमै थन्कियो गहुँ

आर्थिक वर्ष २०७७/८८ को बजेटले गहुँ आयातमा थप ४ प्रतिशत भन्सार महसुल बढाएर ९ प्रतिशत पुर्‍याएको छ । यसबाट नेपालमा रहेका ४२ वटा ठूला मैदा मिल र १ सय ५० वटा साना आँटा उद्योग प्रभावित भएका छन् ।

यसअघि गहुँ आयात गर्दा ५ प्रतिशत भन्सार महसुल लाग्थ्यो । तर बजेटले औद्योगिक प्रयोजनका लागि आयात हुने गहुँको एचएस कोड नै परिवर्तन गरी ९ प्रतिशत र बीउ गहुँ आयात गर्दा ५ प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरेको छ ।

मोरङ व्यापार संघका उपाध्यक्ष तथा मैदा उद्योग सञ्चालक विकास बेगवानीका अनुसार गहुँको आयात दुईवटा हार्मोन कोडबाट गरिन्छ । औद्योगिक प्रयोजनको गहुँ हार्मोन कोड १९०० र बीउमा प्रयोग गरिने गहुँ हार्मोन कोड ९९०० बाट आयात गरिन्छ ।

आँटा र मैदाको भन्सार महसुल पनि ९ प्रतिशत नै छ । कच्चा पदार्थमा पनि भन्सार महसुल ९ प्रतिशत नै तोकिएको छ । ‘नौ प्रतिशत भन्सार महसुल तिरेर गहुँ आयात गरी उद्योग चलाउनुभन्दा त्यति नै भन्सार तिरेर आँटा र मैदा आयात गर्नु फाइदा छ,’ बेगवानीले भने, ‘थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोड्दा नेपालको आँटा र मैदा महँगो पर्ने भएकाले भारतबाट आयात गर्दा सस्तो पर्ने पक्का छ ।’

विराटनगर भन्सार कार्यालयप्रमुख शिव भण्डारीले बजेट सार्वजनिक भएपछि विभागले मुलुकका सबै भन्सार कार्यालयले गहुँ आयातमा ९ प्रतिशत महसुल लिन सुरु गरेको बताए । ‘पहिला गहुँ आयातमा ५ प्रतिशत महसुल लिने निर्देशन थियो, अहिले ९ प्रतिशत लिन निर्देशन छ,’ उनले भने, ‘विभागको निर्देशन पालना त गर्नै पर्‍यो ।’

प्रकाशित : जेष्ठ १९, २०७७ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?