आफन्तबाटै बलात्कार, पीडित झन् जोखिममा

बाबुबाटै पटकपटक बलात्कृत भएको घटना सार्वजनिक भएपछि परिवारले पीडितलाई नै मानसिक दबाब दिइरहेका छन् ।
सुम्निमा चाम्लिङ

इटहरी — सुनसरीको इटहरी उपमहानगरपालिका-७ की १६ वर्षीया किशोरी आफ्नो बाबुबाट पटकपटक बलात्कारको सिकार भइन् । झट्केलो बाबुले घरमा कोही नभएको मौका छोपी छोरीमाथि यौन हिंसा गर्दै आएका थिए ।

आफन्तबाटै बलात्कार, पीडित झन् जोखिममा

किशोरीलाई घटनाबारे कसैलाई नभन्न धम्की दिने गर्थे । पहिलोपटक बलात्कारको घटना हुदा किशोरीले आमा र आफन्तलाई बताएकी थिइन् । तर कसैले विश्वास गरेनन् ।

गत वर्ष पुसमा उनी दोस्रोपटक बलात्कारको सिकार हुन पुगिन् । त्यसपछि भने उनी मानसिक रुपमा गुज्रिन पुगिन् । कक्षा १० मा पढ्दै आएकी उनको परीक्षामा समेत प्रभाव पर्‍यो । पढाइमा अब्बल भएका कारण विद्यालयले आग्रह गरेपछि मात्र उनले परीक्षा दिएकी हुन् । पीडित बालिकाका एक जना आफन्तले महिला अधिकारकर्मीलाई घटनाबारे जानकारी गराएका थिए ।

अधिकारकर्मीको पहलमा इलाका प्रहरी कार्यालय इटहरीले आरोपित बुवालाई पक्राउ गर्न सफल भयो । उनीमाथि जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ । आरोपित अवकाशप्राप्त शिक्षक हुन् । उदयपुरको रामपुर स्थायी ठेगाना भएका पीडक इटहरीमा बस्दै आएका थिए । किशोरीलाई ओरेक नेपाल सुनसरीको पहलमा विराटनगरको सेभ हाउसमा राखिएको थियो । तर पारिवारिक दबाब आएपछि उनका आमाले किशोरीलाई शनिबार घर लगेकी छन् ।

धरान-१७ की १४ वर्षीया बालिकाले वडा कार्यालयमा पुगी जनप्रतिनिधि र सामाजिक परिचालिकालाई आफू बलात्कृत भएको बताइन् । जेठ १६ गते दिउँसो आफूलाई बुवाले बलात्कार गरेको भन्दै गुहार माग्न वडामा पुगेपछि प्रहरीले आरोपित बुवालाई पक्राउ गर्‍यो । हाल आरोपितविरुद्ध पीडितकी आमाले जबरजस्ती करणी मुद्दा दर्ता गरेकी छन् । पीडक अहिले हिरासतमा छन् । आमा ठूलीआमाको घरमा काम सघाउन गएको बेला बुवाले बलात्कार गरेको बालिकाको भनाइ छ । उनीमाथि यसअघि पनि बुवाले बलात्कार गरेका थिए । बालिकाले एकपल्ट आत्महत्याको प्रयाससमेत गरेकी थिइन् । छिमेकीका अनुसार घटना सार्वजनिक गरेको भन्दै बालिकालाई परिवारले दबाब दिँदै आएको छ । अभियुक्त पूर्वप्रहरी हुन् । उनका दुई जना श्रीमती रहेको खुलेको छ । इलाका प्रहरी कार्यालय धरानले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

यस्तै, दुहबीमा आफ्नै मामाले भान्जीलाई बलात्कार गरेका छन् । आफ्नै घरमा बस्ने १० वर्षीया भान्जीलाई करणी गरेको पाइएको छ । जेठ ५ गते उक्त घटना भएको हो । बालिकाले आफू बलात्कृत भएको बताएपछि प्रहरीमा उजुरी परेको थियो ।

बालिकाका अनुसार कोही नभएको मौका छोपी मामाले जबरजस्ती गरेका थिए । परिवारका सदस्यले नै आरोपितलाई भगाएको खुलेको छ । उनीमाथि दुहबी प्रहरीले खोजी जारी राखेको जनाएको छ । हाल बालिकालाई दुहबीको अनाथ आश्रममा राखिएको छ । पीडितकी आमा काठमाडौंमा बस्दै आएकी छन् ।

इटहरी उपमहानगरपालिका २० मा पनि एक किशोरीमाथि बलात्कारको प्रयास भयो । गत वैशाख २६ गते १८ वर्षीया किशोरीलाई मन्टेश्वरी सञ्चालकले बलात्कारको प्रयास गरेका थिए । मन्टेश्वरीका लागि आएका नयाँ किताब मिलाउनुपर्ने भन्दै घरमा बोलाएर बलात्कार प्रयास गरेका थिए ।

पीडकमाथि जेठ १३ गते पीडितका दाजुले जबरजस्ती करणीमा मुद्दा दर्ता गरेका छन् । प्रहरी र आरोपित पक्षले मुद्दा दर्ता नगर्न दबाब दिएका थिए । महिला अधिकारकर्मीको सहयोगमा मुद्दा दर्ता भएको हो । युवती दाजुसँग मन्टेश्वरी नजिकै बस्दै आएकी थिइन् । घटना सार्वजनिक भएपछि बस्ने अवस्था नरहेको कारण उनी अन्यत्र बसाइँ सरेकी छन् ।

जबरजस्ती करणी वा सामूहिक रुपमा करणी गरेमा २० वर्ष जेल सजाय र जरिवानाको कानुनी व्यवस्था छ । यद्यपि महिला तथा बालिकामाथि हुने बलात्कारको घटना रोकिएको छैन ।

विशेषगरी १८ वर्षमुनिका बालिका आफन्तबाटै बढी असुरक्षित हुँदै आएका छन् । बालिका तथा किशोरीहरु प्रतिकार गर्न नसक्ने भएका कारण उनीहरुमाथि यौन हिंसा बढी हुने गरेको महिला अधिकारकर्मी शान्ति गजमेरले बताइन् । उनका अनुसार अरुको आश्रय लिएर बसेका महिला तथा बालिकाहरु बढी जोखिममा छन् ।

सुनसरी प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७६ असार मसान्त सम्म १०५ वटा बलात्कारका मुद्दा दर्ता भएका छन् । जसमा १० वर्षमुनिका १५ जना, १० देखि १४ वर्षका १४ जना, १४ देखि १६ वर्षका २८ जना, १६ देखि १८ वर्षका १२ जना र १८ देखिमाथिका ३६ जना रहेका छन् । यस्तै, आर्थिक वर्ष २०७६/७७ साउनदेखि वैशाखसम्म ६८ वटा बलात्कारका मुद्दा दर्ता भएका छन् ।

ओरेक नेपाल सुनसरी संयोजक शान्ति दनुवारले किशोरी तथा महिलाहरु आफन्तबाटै असुरक्षित रहेको बताइन् । प्रत्येक स्थानीय तहले लैगिंक हिंसाका मुद्दामा प्राथमिकतासाथ काम गर्न सके महिला तथा बालिकामाथि हुने हिंसा कम गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ १८, २०७७ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?