३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

झापाको एउटै क्वारेन्टाइनमा बसेका ९९ मध्ये ५२ जनामा संक्रमण

अर्जुन राजवंशी

बिर्तामोड — प्रदेश १ मा सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित पुष्टि भएको झापामा एउटै क्वारेन्टाइनमा बसेका ५२ जनामा संक्रमण देखिएको छ । कचनकवल गाउँपालिका ४ केचनास्थित महेन्द्र रत्न माविको क्वारेन्टाइनमा बसेकामध्ये ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

झापाको एउटै क्वारेन्टाइनमा बसेका ९९ मध्ये ५२ जनामा संक्रमण

उक्त क्वारेन्टाइनमा भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेकाहरुलाई राएिको थियो । त्यहाँ रहेका ९९ जनामध्ये ५२ जनामा संक्रमण पुष्टि भइसकेको छ । शुक्रबार २७ जनामा पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । अर्का भद्रपुरका एकजनासहित शुक्रबार झापाका २८ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका २७ र यसअघिका समेत गरी उक्त क्वारेन्टाइनमा रहेका ५२ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले बताए । विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा स्वाब नमुना परीक्षणका लागि पठाइएकामा पोजिटिभ रिपोर्ट आएको यादवले बताए ।

त्यही क्वारेन्टाइनका २७ जनामा शुक्रबार अनि अरुमा बिहीबार संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पुष्टि गरिसकेको छ ।

कचनकवलमा मात्रै संक्रमितको संख्या सय पुगेको छ । भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेकालाई सीमा वारि आएलगत्तै नियन्त्रणमा लिएर क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राख्ने गरिएको छ ।

उनीहरुलाई सीमा क्षेत्रमै नियन्त्रणमा लिने गरेकाले संक्रमितहरुबाट समुदायमा भने संक्रमण फैलिन नपाएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । भारतको दिल्ली, मुम्बई, गुजरात, उत्तर प्रदेशलगायत स्थानबाट आएकालाई राख्न कचनकवलमा मात्र ६ वटा क्वारेन्टाइन निर्माण गरिएका छन् ।

कचनकवलमा लक्ष्मी मावि बनियानी, जानकी आधारभूत विद्यालय पाठामारी, लक्ष्मीप्रसाद देवकोटा मावि सुकुनाडिघी, महेन्द्र रत्न मावि केचना, पथरिया मावि पथरिया र बुद्ध आधारभूत विद्यालय घेराबारीमा क्वारेन्टाइन निर्माण गरिएको छ । ६ मध्ये लक्ष्मी मावि र बुद्ध आधारभूतमा बसेकाहरुको पीसीआर परीक्षणका लागि शुक्रबार स्वाब नमुना संकलन गरिएको थियो । अन्य चारवटा क्वारेन्टाइनमा रहेकाहरुमा भने संक्रमण पुष्टि भइसकेको छ ।

झापामा अहिलेसम्म १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमण पुष्टि भएकामध्ये २ जना निको भएका छन् ।

प्रकाशित : जेष्ठ १७, २०७७ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?