जोगबनी नाकाबाट थप ९५ आए, २०८ बाहिरिए

माधव घिमिरे

विराटनगर — भारतका विभिन्न स्थानबाट आएका थप ९५ जना नेपाली जोबगनी नाकाबाट प्रवेश गराइएका छन् । मोरङ प्रहरीका अनुसार बिहीबार त्यति संख्यामा आएइकाहरुलाई प्रवेश गराइएको हो । यसैगरी नेपालमा रहेका २ सय ८ जनालाई उक्त नाका भएर भारततिर पठाइएको छ ।

जोगबनी नाकाबाट थप ९५ आए, २०८ बाहिरिए

यसअघि बुधबार ३ सय ४ जनालाई प्रवेश गराइएको थियो । जोगबनी नाकाबाट भित्रिएकामा उत्तरपूर्वी ताप्लेजुङदेखि पश्चिमको गोर्खासम्मका व्यक्तिहरु छन् । भित्रनेहरुमा ३५ जना बालबालिका रहेको मोरङ प्रहरीले जनाएको छ । भारतबाट आएकाहरुमा मोरङ, सुनसरी, उदयपुर, गोर्खा, सप्तरी, झापा, पाँचथर, ताप्लेजुङ, चितवन रुकुम र स्याङजाका समेत छन् ।

नेपाल प्रवेश गराइएकाहरु कतिपयलाई सीमानजिकका ‘होल्डिङ सेन्टर’ मा राखिएको छ । अन्यलाई उनीहरुको ठेगाना रहेको जिल्ला र स्थानीय तहमा पठाइएको प्रहरीले जनाएको छ ।

भारतबाट भित्रने क्रम बढेपछि मोरङका ४३ स्थानमा बनाइएका क्वारेन्टाइनमा बस्नेको संख्या पनि बढेको छ । भारतबाट आएकाहरु थपिएपछि क्वारेन्टाइनमा बस्नेको संख्या ७ सय ४० पुगेको छ । यसअघि क्वारेन्टाइमा बसिरहेकाको संख्या ९ सय ९८ थियो । तीमध्ये २ सय ५८ जनालाई सम्बन्धित स्थानीय तहमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रदेश १ मा संक्रमितको संख्या १ सय २९ पुगेको छ । बिहीबार साँझ झापाको कचनकवलका थप २५ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या बढेको हो । बिहीबार पुष्टि भएका संक्रमित झापाको कचनाकवलका हुन् । प्रदेश १ मै सबैभन्दा बढी झापाको उक्त गाउँपालिकाका व्यक्तिहरु छन् । ती भारतको मुम्बईलगायत स्थानबाट घर फर्केका थिए ।

यसअघि प्रदेशका सातवटा जिल्लामा संक्रमण देखिएको थियो । पछिल्लो पटक सोलुखुम्बुमा एक जनामा संक्रमण पुष्टि भएपछि जिल्ला थपिएर ८ पुगेको छ । प्रदेश १ मा १४ जिल्ला छन् ।

प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार झापा ७७, उदयपुर ३३, धनकुटा ७, मोरङ ६, सुनसरी ३, खोटाङ, भोजपुर र सोलुखुम्बु १–१ जना संक्रमित पुष्टि भएका हुन् ।

संक्रमितहरु अधिकांश भारतबाट आएका व्यक्तिहरु हुन् । केही स्थानीयमा पनि संक्रमण देखिएको छ । उनीहरुमा कसरी संक्रमण भयो भन्नेबारे अध्ययन भइरहेको जनाइएको छ । उदयपुरका संक्रमित ३३ मध्ये २७ जना उपचारपछि डिस्चार्ज गरिएका छन् । यस्तै झापाका दुईजना र भोजपुरका एकजना पनि उपचारपछि डिस्चार्ज गरिएको प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?