१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जोगबनीबाट भित्रिएकालाई घर पठाइँदै

बुधबारभित्र आइपुगेका ३ सय ४ जनामा ताप्लेजुङदेखि रुकुमसम्मका छन्
माधव घिमिरे

विराटनगर — भारतका विभिन्न स्थानबाट आई सीमानजिक बसिरहेकाहरूलाई नेपाल प्रवेश गराएर सम्बन्धित स्थानीय तहमा पठाउन थालिएको छ । बुधबारसम्म जोगबनी नाकाबाट ३ सय ४ जनालाई नेपाल प्रवेश गराइएको छ ।

जोगबनीबाट भित्रिएकालाई घर पठाइँदै

यसरी भित्रिएकामा उत्तरपूर्वी ताप्लेजुङदेखि पश्चिमको रुकुमसम्मका छन् । तिनमा ३५ जना बालबालिका रहेको मोरङ प्रहरीले जनाएको छ । भारतबाट आएकाहरूमा मोरङका १ सय १४, सुनसरीका ७३, उदयपुरका ३, गोर्खाका ८, सप्तरीका ५, झापाका २१ जना छन् । यसै गरी पाँचथरका ९, ताप्लेजुङका १२, चितवनका १, तेह्रथुमका १२, धनकुटाका १२, धनुषाका १, रुकुमका ३१, स्याङ्जाका २ जना रहेको प्रहरीले जनाएको छ ।

नेपाल भित्र्याइएकाहरूलाई विराटनगरस्थित डीएभी स्कुलमा राखिएको थियो । तीमध्ये मोरङ र सुनसरीका १ सय ११ जनालाई बुधबार सम्बन्धित स्थानीय तहमा पठाइएको छ । अरू स्थानका बासिन्दालाई पनि पालिकासँगको समन्वयमा पठाउने तयारी प्रहरीले गरेको छ ।

भारतबाट भित्रने क्रम बढेपछि मोरङका ३८ स्थानमा बनाइएका क्वारेन्टाइनमा बस्नेको संख्या पनि बढेको छ । यसअघि क्वारेन्टाइमा बसिरहेकाको संख्या ८ सय २७ रहेकामा २ सय ५८ जना घर फर्किसकेको प्रहरीले जनाएको छ ।

विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा बस्नेको संख्या ३३ छ । उक्त केन्द्र र मोरङका अन्य स्थानमा रहेका आइसोलेसनमा यसअघि १ सय १० जना बस्दै आएकामा ७७ जना फिर्ता भएका छन् । फिर्ता भएकाहरू कतिपय घर गएका छन् भने कतिपयलाई केही समय क्वारेन्टाइनमा राखिने भएको छ । यसैगरी नेपालमा रहेका २६ जनालाई बुधबार जोगबनी नाका हुँदै भारततिर पठाइएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७७ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?