१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

झापामा १७ जना संक्रमित थपिए

अर्जुन राजवंशी

बिर्तामोड — स्वास्थ्य परीक्षणको दायरा बढाउँदा झापामा कोभिड–१९ संक्रमितको संख्या पनि बढेको छ । बुधबारमात्र १७ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका ५ वटा पालिकामा गरी कोभिड–१९ संक्रमितको संख्या ५४ पुगेको छ ।

झापामा १७ जना संक्रमित थपिए

स्वाब संकलन र स्वास्थ्य परीक्षणलाई तिव्रता दिएसँगै संक्रमितको संख्या पनि बढेको हो । पालिकाहरुले आफैं भाइरस ट्रान्सपोर्ट मिडिया (भीटीएम) किट खरिद गरेर पालिकाका स्वास्थ्यकर्मीलाई स्वाब संकलन गर्ने तालिम दिएपछि जिल्लामा स्वाब संकलन तीव्र बनेको हो ।

सीमावर्ती कचनकवल गाउँपालिकामा २ सय ६८ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको छ । एक सय ६ जनाको पीसीआर नतिजा आउन बाँकी रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वप्रसाद यादवले जानकारी दिए ।

भारतको दिल्ली, मुम्बईलगायत स्थानबाट लुकीछिपी नेपाल प्रवेश गरेका गाउँपालिकावासीलाई क्वारेन्टाइन र होल्डिङ एरियामा राखेर स्वाब नमुना संकलन गर्ने कार्यलाई तीव्रता दिएको यादवले बताए । गौरादह नगरपालिकामा ४४ जनाको पीसीआर परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका दुवै जना भारतको मद्रासबाट एक हप्ताअघि मात्र लुकीछिपी नेपाल प्रवेश गरेका थिए ।

भारतबाट लुकीछिपी नेपाल भित्रिनेको संख्या बढेपछि जिल्लामा कोभिड–१९ परीक्षण पनि बढाएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । वैशाख १४ मा दिल्ली पुगेर फर्किएका एक पुरुषमा संक्रमण पुष्टि भएपछि बाह्रदशी गाउँपालिकामा मंगलबारसम्म एक सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमध्ये थप एकमा गरी बाह्रदशीमा दुई जनामा संक्रमण पुष्टि भएको हो । ७६ जनाको पीसीआर परीक्षण गर्दा झापा गाउँपालिकामा पनि एक जनामा कोभिड–१९ पुष्टि भएको छ ।

वैशाख १२ गते एक वृद्धमा संक्रमण पुष्टि हुँदा मंगलबारसम्म दमक नगरपालिकामा एक सय ६८ जनाको पीसीआर परीक्षण गरिसकेको चम्लागाईले बताए । संक्रमण पुष्टि नभएका बिर्तामोड नगरपालिकामा २०८, भद्रपुर नगरपालिकामा ८५, मेचीनगर नगरपालिकामा ५०, बुद्धशान्ति गाउँपालिकामा ४४, हल्दिबारी गाउँपालिकामा ३८, अर्जुनधारा नगरपालिकामा र गौरीगन्ज गाउँपालिकामा ३०/३०, कनकाई नगरपालिकामा १९, शिवसताक्षी नगरपालिकामा ७ र कमल गाउँपालिकामा ३ जनाको पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालयकाअनुसार जिल्लाका १५ वटै पालिकामा गरी एक हजार २ सय १८ जनाको पीसीआर तथा एक हजार ८ सय ४२ जनामा र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) परीक्षण गरिएको छ ।

प्रदेश १ का १४ मध्ये सात जिल्लामा संक्रमितको संख्या १ सय ४ पुगेको छ । झापा, उदयपुर, मोरङ, सुनसरी, भोजपुर, खोटाङ र धनकुटामा संक्रमित भेटिएका हुन् । अधिकांश संक्रमित भारतबाट आएकाहरु छन् । संक्रमितहरुको विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखेर हेरचार गर्ने गरिएको छ । त्यहाँ राखिएकामध्ये ३० जना डिस्चार्ज गरिएका छन् ।

प्रकाशित : जेष्ठ १४, २०७७ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?