कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

संक्रमण नदेखिएका पूर्वका ४ जिल्ला कति सुरक्षित ?

झापामा संक्रमण देखिए पनि त्यससँग जोडिएको इलाम र त्यसमाथिका पाँचथर, ताप्लेजुङमा संक्रमित भेटिएका छैनन् । यी चारै जिल्ला भारतसँग जोडिएका छन् ।
आनन्द गौतम

ताप्लेजुङ — प्रदेश १ को पूर्वी-दक्षिणी जिल्ला झापामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । त्यससँग जोडिएको इलाममा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन । इलाम हुँदै झापाको बिर्तामोडमा व्यापारिक कारोबार गर्ने इलाममाथिमा पाँचथर र ताप्लेजुङमा पनि संक्रमित भेटिएका छैनन् ।

संक्रमण नदेखिएका पूर्वका ४ जिल्ला कति सुरक्षित ?

यी दुई जिल्लाले मेची राजमार्गको प्रयोग गर्छन् र झापासँग प्रत्यक्ष जोडिन्छन् । झापादेखि ताप्लेजुङसम्मका ४ जिल्ला भारतसँग सिमाना जोडिएका जिल्ला पनि हुन् ।

पाँचथर र ताप्लेजुङसँग जोडिएको तेह्रथुममा पनि अहिलेसम्म संक्रमण देखिएको छैन । यी पहाडी चारै जिल्लाका जनस्वास्थ्य अधिकृत तथ्यांकीय हिसाबले आफूहरुको जिल्ला सुरक्षित रहेको बताउँछन् ।

प्रदेश १ का १४ मध्ये ७ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ । सबैभन्दा बढी झापामा ३५ जनामा संक्रमित छन् । उदयपुरमा ३३ जनामा संक्रमण पाइएको छ । धनकुटामा ७, मोरङमा ६, सुनसरीमा ३, खोटाङ र भोजपुरमा एक–एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

परीक्षणका हिसाबले ४ मध्ये तेह्रथुम सबैभन्दा अगाडि छ । जनस्वास्थ्य अधिकृत योगराज घिमिरे अहिलेसम्म २ सय ११ जनाको पीसीआर परीक्षण गरिएको बताउँछन् । यीमध्ये १ सय ९१ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ । आठराईका १७ जनाको आउन बाँकी छ । '६ सय ८० जनाको आरडीटी गरिएको छ,' उनले भने, 'ताप्लेजुङ र धनकुटाजस्तो अन्य जिल्लामा रहेकालाई तेह्रथुममा धेरै संख्यामा ल्याइएन । बाहिरबाट जति आए सबैको परीक्षण गरियो । एक गाउँपालिकाबाट अर्कोमा जाने हरेक नागरिकले स्वास्थ्य परीक्षण गराउनुपर्ने प्रावधान मिलाइएको छ ।' उनका अनुसार बाहिरबाट आएकालाई स्वास्थ्य जाँच र क्वारेन्टाइन अनिवार्य गरियो । केन्द्र र प्रदेशको पर्खंदा ढिलो हुन सक्ने भएकाले स्थानीय तहलाई भीटीएम किन्न अनुरोध गरिएको र अधिकांशले किनेकाले परीक्षणमा पनि यहाँ कुनै समस्या छैन ।

तेह्रथुमपछि धेरै परीक्षण पाँचथरले गरेको छ । जनस्वास्थ्य अधिकृत नारद सुवेदीले पाँचथरमा १ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको बताए । संक्रमण रोकथामका लागि खटिएका सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, एम्बुलेन्स चालकलगायत जोखिम आशंका गरिएकाहरुको परीक्षण गरिएको हो । १३ सय जनाको आरडीटी गरिएको छ ।

भारत र झापासँग जोडिएको इलाममा ४६ जनाको पीसीआर गरिएको जनस्वास्थ्य अधिकृत बृजकुमार दासले बताए । उनका अनुसार जिल्लामा ८९ वटा भीटीएम मौज्दात छ । ६ सय ३५ जनाको आरडीटी गरिएको छ ।

यी ३ जिल्लाको तुलनामा ताप्लेजुङमा सबैभन्दा कम परीक्षण भएको छ । जनस्वास्थ्य अधिकृत राजकुमार पोख्रेल अहिलेसम्म ३१ जनाको पीसीआर, ४ सय ५८ को आरडीटी गरिएको बताउँछन् । यहाँ ९० थान भीटीएम बाँकी छ ।

पाँचथरका अधिकृत सुवेदीले आफ्नो जिल्लालाई कसरी सुरक्षित बनाउने भनेर साझा सहमति बनाएर अघि बढेको बताए । ‘परीक्षणलाई बढायौं र सबै क्षेत्रलाई समेट्ने गरी परीक्षण गर्‍यौं,’ उनले भने, ‘यो हाम्रो अवस्था कस्तो छ भनेर गरिएको हो ।’

इलाममा भने २ हजार भीटीएम खरिद प्रक्रियामा रहेको दासले बताए । ताप्लेजुङले पनि स्थानीय तहका लागि खरिद प्रक्रिया बढाएको छ । खरिदका लागि ९ वटै स्थानीय तहले सहमति जनाएका छन् । तर ताप्लेजुङ र इलाम परीक्षणमा भने कमजोर देखिएका छन् ।

ताप्लेजुङले जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र केही शंकास्पदको मात्रै परीक्षण गरेको छ । 'संक्रमण नियन्त्रणमा खटिएकाहरुको पछिल्लोपटक गरिएको परीक्षणले हामी सुरक्षित छौं कि भन्ने अपेक्षा गरिएको छ,' जनस्वास्थ्य अधिकृत पोख्रेलले भने ।


प्रकाशित : जेष्ठ १२, २०७७ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?