भद्रपुरमा कोभिड अस्पताल निर्माणमा स्थानीयको विरोध

अर्जुन राजवंशी

बिर्तामोड — झापाको भद्रपुर नगरपालिकामा कोभिड अस्पताल बनाउने विषयमा स्थानीयले विरोध जनाएका छन् । मेची अस्पतालको निर्माणाधीन भवनमा कोभिड अस्पताल बनाउन लागेको भन्दै आसपासका बासिन्दाले विरोध जनाएका हुन् ।

भद्रपुर ८ स्थित निर्माणाधीन भवन मेची अस्पताल नजिकै पर्छ । भद्रपुर ५ र ८ का जनप्रतिनिधिसहित स्थानीयले उक्त स्थानमा कोभिड अस्पताल नबनाउन आग्रह गरेका छन् । कोभिड अस्पताल बनाउँदा आसपासका स्थानीयलाई संक्रमणको जोखिम हुने उनीहरुको भनाइ छ । उक्त स्थानमा कोभिड अस्पताल बनाउन नदिने भन्दै सोमबार दुवै वडाका जनप्रतिनिधिसहितको एउटा समिति समेत गठन गरिएको छ ।

‘बस्तीको बीचमा हुने भएकाले निर्माणाधीन भवनमा कोभिड अस्पताल बनाउन उपयुक्त छैन भनेर हामीले भनिरहेका छौं,’भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्कीले भने । उक्त भवनमा कोभिड अस्पताल निर्माण गरिए जिल्लाको एक मात्र सरकारी अस्पताल मेची अस्पतालबाट सेवा लिने सेवाग्राही प्रभावित हुने कार्कीको भनाइ छ ।

‘कोभिड अस्पताल बनाउने भनिएको भवनबाट ५० मिटर आसपासमा मेची अस्पताल, प्रसूति गृह, क्षयरोग निवारण केन्द्र छ,’ कार्कीले भने,‘यति नजिकमा अन्य बिरामीले कसरी सेवा लिन सक्छन् ?’झापामा कोभिड अस्पताल निर्माण गर्ने निर्णय स्वागतयोग्य भएपनि स्थान छनोट उचित नभएको उनको जिकिर छ ।

भद्रपुर ८ का वडाध्यक्ष मनोज सुब्बाले स्थानीय जनप्रतिनिधिसंग समन्वय नै नगरि निर्णय गरेकाले विवाद सिर्जना भएको तर्क गरे । उनले स्थानीयको विरोधकाबीच मेची अस्पतालमा कोभिड अस्पताल बनाउन नहुने सुझाए । असन्तुष्ट स्थानीयको सोमबार बिहान भएको छलफलबाट जिल्ला सम्वन्य समिति, जिल्ला प्रशासनलगायतसंग संवाद गर्न स्थानीय भक्त खवासको संयोजकत्वमा एक समिति गठन गरेको सुब्बाले बताए ।

जिल्ला कोरोना भाइरस संक्रमण रोकथाम, अनुगमन तथा समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले कोभिड अस्पतालका लागि मेची अस्पतालको निर्माणाधीन भवन उपयुक्त स्थान भएको दाबी गरे । उनले कोरोना संक्रमण भएकाको उपचार गर्ने अस्पताल बनाउन लागेकाले अस्पतालबाटै अन्यलाई संक्रमण फैलिन्छ भन्ने तर्क उचित नभएको बताए ।

‘अस्पतालबाट अन्यलाई संक्रमण फैलिन्छ भन्ने तर्क आधारहीन छ । अस्पतालका लागि चाहिने पूर्वाधार निर्माणाधीन भवनमा पर्याप्त छ,’पोर्तेलले भने,‘यत्तिको पूर्वाधार अर्को ठाउँमा छैन । सम्भावित सबै ठाउँको स्थलगत अवलोकनपछि नै उक्त स्थान छनोट गरेका हौं ।’ उनले असन्तुष्ट पक्षसंग छलफलमार्फत समस्या समाधान गर्ने बताए ।

समन्वय समितिको नेतृत्वमा मेची अस्पतालको निर्माणाधीन भवनमा कोभिड अस्पताल बनाउने निर्णय भएको हो । प्रदेश सरकारको लगानीमा उक्त भवनमा १० वटा भेन्टिलेटरसहित एक सय शय्याको कोभिड अस्पताल बनाउने प्रक्रिया अघि बढाएको संयोजक पोर्तेलले जानकारी दिए । मेची अस्पताल नजिकैको जिल्ला स्वास्थ्य कार्यालयको तालिम केन्द्रमा पीसीआर परीक्षण गर्ने प्रयोगशाला पनि बनाउने निर्णय भएको पोर्तेलले बताए । पीसीआर प्रयोगशालासहितको कोभिड अस्पताल जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्नेगरि प्रक्रिया अघि बढाएको उनले बताए ।

जिल्लाको चार वटा पालिकामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । सोमबार अपरान्हसम्म जिल्लामा ३७ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या प्रदेश १ मै सबैभन्दा बढी हो ।

कचनकवल गाउँपालिकामा ३३, बाह्रदशी गाउँपालिकामा २ तथा दमक नगरपालिका र झापा गाउँपालिकामा एक/एक जनामा संक्रमण पुष्टि भएको हो । दमक र बाह्रदशीका गरि दुई जना उपचारपछि घर फर्किसकेका छन् भने अन्यका बिराटनगर र धरानस्थित कोभिड अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ १२, २०७७ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्

धनुषाको क्वारेन्टाइन सुरक्षामा खटिएका दुई प्रहरी संक्रमित

एकैदिन प्रदेश २ मा थप ५४ जनामा संक्रमण पुष्टि
अजित तिवारी

जनकपुर — प्रदेश सरकारले सञ्चालनमा ल्याएको धनुषाको गंगुलीस्थित प्रादेशिक क्वारेन्टाइनको सुरक्षामा खटिएका दुई प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको छ । योसमेत प्रादेशिक क्वारेन्टाइनमै संक्रमित हुनेको संख्या ८ पुगेको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा सोमबार बिहान गंगुली क्वारेन्टाइनका तीन जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये दुई जना प्रहरी हुन् । सोमबार बिहान मात्र कुल संक्रमित ७२ जनामा प्रदेश २ का ५४ जना छन् । धनुषामा ३, रौतहटमा २६, सप्तरीमा २ र बारामा २३ जना संक्रमित थपिएका छन् ।

धनुषाको इलाका प्रहरी कार्यालय फुलगामामा कार्यरत र क्वारेन्टाइनको सुरक्षामा खटिएका दुई जना प्रहरीमा कोरोना भाइरस पोजिटिभ देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । उनले संक्रमित एकजना ४५ वर्षीय असई र ३१ वर्षीय प्रहरी जवान रहेको बताए । संक्रमित दुवै सुरक्षाकर्मी गंगुली क्वारेन्टाइनमा करिब दुई महिनादेखि सुरक्षार्थ खटिएका थिए । यस्तै, धनुषाका अर्का ३० वर्षीय संक्रमित पुरुष गंगुली क्वारेन्टाइनमा बसिरहेका व्यक्ति हुन् ।

भारतको नयाँदिल्लीस्थित एक छापाखानामा काम गर्ने ती ३० वर्षीय पुरुष जेठ ६ गते घर फर्केपछि उनलाई प्रादेशिक क्वारेन्टाइनमा राखिएको थियो । जेठ ७ गते उनको स्वाब संकलन गरी परिक्षणका लागि टेकु पठाइएको थियो । संक्रमण पुष्टि भएका तीनैजनामा कुनै लक्षण नदेखिएको क्वारेन्टाइन्का संयोजक सन्तोष ठाकुरले बताए ।

प्रादेशिक क्वारेन्टाइन गांगुलीमा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि क्वारेन्टाइन सिल गरेर बाँकीको स्वाब संकलन गरिएको थियो । प्रादेशिक क्वारेन्टाइनमा मात्र ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइन सिल गरेर सोमबार त्यहाँ बसिरहेका ८१ जनाको स्वाब संकलन थालिएको क्वारेन्टाइन संयोजक ठाकुरले बताए ।

प्रकाशित : जेष्ठ १२, २०७७ १४:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×