२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

कोरोना त्रास भुल्दै भुल्केवासी

भुल्केवासी भनेपछि बोल्दै नबोल्ने र पैसासमेत नचल्ने अवस्था थियो । बस्ती सिल गरिए पनि अहिले कडाइ छैन । अवस्था सामान्य बन्दै छ ।
डिल्लीराम खतिवडा

उदयपुर — नजिकै घर छन् । तर छिमेकीको भेटघाट नभएको एक महिनाभन्दा बढी भयो । आँगनभन्दा पर जान पाइँदैन । करिब ५० मिटर वरपरबाट अलि चर्को स्वरमा बातचित हुन्छ । गाउँमा सुरक्षाकर्मीको घेरामा छ । गाउँ नै सिल भएका कारण छिमेकीकामा आवतजावत गर्ने बाटोसमेत बन्द छ । 

कोरोना त्रास भुल्दै भुल्केवासी

प्रदेश १ मा पहिलोपटक कोरोना संक्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको अवस्था हो यो ।

‘कस्तो समय आयो, एउटा छिमेकीले अर्कोको घरसम्म जान नपाउने,’ प्रभावित बस्तीसँगै जोडिएको अर्को बस्तीका वासु खतिवडाले भने, ‘छिमेकी बिरामी हुँदा फलफूल लिएर भेट्न जाने र औषधि उपचारका लागि अस्पताल पुर्‍याउन नसकिने रहेछ ।’ ५६ परिवार रहेको बस्तीका केही संक्रमित भई उपचाररत छन् ।

निको भएर आए पनि घर आउन पाएका छैनन् । उनीहरू गाउँभन्दा झन्डै अढाई किलोमिटर टाढा मोतीगढाको क्वारेन्टाइनमा छन् ।

वैशाख ५ गते भुल्केस्थित नूरी मस्जिदमा बस्दै आएका १२ जना जमातीमा पहिलोपल्ट कोरोना संक्रमण देखियो । त्यसयता खाद्यान्न लगायतको अभाव र बढ्दो त्रासले जनजीवन कष्टपूर्ण बन्न पुगेको थियो । तर अहिले क्रमशः सामान्य हुँदै गएको छ । ‘एक्कासि ठूलो संख्यामा कोरोना संक्रमण देखियो,’ स्थानीय अनिश मियाँले भने, ‘त्यसयता सर्वसाधारणमा मनोवैज्ञानिक त्रास कायमै छ ।’ तर विस्तारै विश्वव्यापारी रूपमा फैलिएको महामारीबाट पाठ सिक्दै त्रासभन्दा गुजाराका लागि गरिने दैनिकी, खेतीपाती, व्यापार व्यवसायमा चिन्ता बढेको स्थानीयले बताए ।

मुस्लिम बस्ती भुल्केमा कोरोनासँगै जोडेर जाति, धर्म र समुदायमा पनि खेल्न खोजिएको स्थानीय यदु ढकालले बताए । ‘जात र धर्मलाई जोडेर गाउँमा कोरोना संक्रमण भित्रियोसम्म भनियो,’ उनले भने, ‘तर अहिले त्यो स्थिति पनि हटिसक्यो ।’ सामाजिक सद्भाव कायम गर्न सबै क्षेत्र समुदायले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गरेकाले स्थिति सामान्य हुँदै गएको उनको भनाइ छ ।

भुल्के गाउँ गाईघाट बजारमा हरियो तरकारी आपूर्ति गर्ने मुख्य स्थान हो । सुरुमा भुल्केमा उत्पादन गरिएको तरकारी र दूध नै गाईघाट बजार बिक्री हुन छोडेको थियो । भुल्केवासी भनेपछि बोल्दै नबोल्ने र पैसासमेत नचल्ने अवस्था आएको थियो । तर अहिले त्यो स्थिति नरहेको स्थानीय साविर मियाँले बताए ।

कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले सुरक्षा भने कडा पारेको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी बताउँछन् । ‘संक्रमितहरू निको हुँदै गएका छन्, नयाँ पोजिटिभ देखिएका छैनन्,’ उनले भने, ‘बस्ती सिल गरिए पनि पहिलेको जस्तो कडाइ भने गरिएको छैन ।’ अब क्रमशः सिल पनि हट्दै जाने र जनजीवनसमेत सामान्य उन्मुख रहेको उनले बताए ।

जिल्ला स्वास्थ्य प्रमुख मोहनप्रसाद सुवेदीले गाउँ सिल गरेकाले भुल्केभन्दा बाहिर संक्रमण नपुगेको जनाए । ‘भुल्के र त्यहाँबाट बाहिर क्वारेन्टाइनमा बस्दै आएकाहरूको तेस्रो पटकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ,’ उनले भने । पछिल्लो पीसीआर नेगेटिभ आएमा भुल्के कोरोनामुक्त हुने उनको भनाइ छ ।

संक्रमित बस्तीमा सरकारी र गैरसरकारी क्षेत्रबाट अएको राहतले पनि विपन्न सर्वसाधारणलाई सहज बनाएको स्थानीयले बताए ।

संक्रमित क्षेत्र भुल्केमा ५२ मुस्लिम समुदायसहित ३ सय १५ घरपरिवारको बसोबास रहेको छ । जिल्लामा अहिलेसम्म ५ सय ९६ महिलासहित १ हजार ६ सय ४९ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसमध्ये ९३ जनाको रिपोर्ट आउन बाँकी छ । रिपोर्ट आएकामध्ये ६ महिलासहित ३३ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित मध्येबाट पनि २३ जना कोभिड–१९ अस्पताल विराटनगरमा उपचारपछि निको भएर फर्किएको स्वास्थ्य प्रमुख सुवेदीले बताए ।

प्रकाशित : जेष्ठ ११, २०७७ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?