कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नेगेटिभ रिपोर्ट आएपछि घर फिरेका युवकमा संक्रमण

परिवार र आफन्तबीच घुलमिल गरेका थिए
अर्जुन राजवंशी

विर्तामोड — आइतबार कोरोना संक्रमण पुष्टि भएका झापा बाह्रदशी गाउँपालिकाका ४५ बर्षीय पुरुष चार दिनअघि भारतको दिल्लीबाट फर्किएर घर फर्किएका थिए ।

नेगेटिभ रिपोर्ट आएपछि घर फिरेका युवकमा संक्रमण

वडा नम्बर ३ निवासी उनी जेठ ७ गते सीमा क्षेत्रबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए । दिल्ली प्रहरीले उनीसहितको एउटा समूहलाई बसको व्यवस्था गरेर ठाकुरगन्ज हुँदै नेपालको सीमावर्ती धनतला गाउँसम्म पठाएको थियो ।

बिहारको धनतला ग्राम पञ्चायतमा बसबाट ओर्लिएका उनी झापा गाउँपालिकाको पन्तापारा सीमा क्षेत्रबाट नेपाल प्रवेश गरेका हुन् । उनलाई सीमा क्षेत्रबाटै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । सम्बन्धित पालिकाको जिम्मा लगाउने क्रममा बाह्रदशीका जनप्रतिनिधिसँगको समन्वयमा उनलाई ७ गते साँझ राजगढस्थित एस्टर हस्पिटलको क्वारेन्टाइनमा ल्याइएको थियो ।

क्वारेन्टाइनमा ल्याएलगत्तै आरडीटी परीक्षण गरिएको थियो । दुईपटक गरिएको आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको थियो ।

७ गते नै बाह्रदशी ४ का एक युवक पनि भारतकै मुम्बईबाट क्वारेन्टाइनमा आइपुगेका थिए । उनीहरु दुवैजनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि भोलिपल्ट ८ गते पीसीआर परीक्षणका लागि स्वाब नमुना संकलन गरिएको थियो ।

९ गते दुवै जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको खबर क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीलाई दिइयो । उक्त खबरका आधारमा उनीहरु दुवै जनालाई क्वारेन्टाइनबाट घर जान डिस्चार्ज गरेको बाह्रदशीका वडा सदस्य प्रेमबहादुर घिमिरेले बताए ।

‘तर, १० गते बिहानै क्वारेन्टाइनमा दिल्लीबाट आएका व्यक्तिको पीसीआर रिपोर्ट शंकास्पद छ भन्ने खबर आयो, फेरि स्वाब नमुना संकलन गरेर विराटनगर पठाउनु भनियो,’ घिमिरेले भने ।

९ गते बेलुका घर फर्किएका उनलाई १० गते बिहान क्वारेन्टाइनमा बोलाइयो । उक्त दिन उनीसहित क्वारेन्टाइनमा बसेका ८ र ३ स्वास्थ्यकर्मीसहित ११ जनाको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षणका लागि कोशी अस्पतालमा पठाएको घिमिरेले बताए । ‘पीसीआर परीक्षणमा दिल्लीबाट आएका व्यक्तिमा संक्रमण पुष्टि भयो,’ उनले भने ।

पहिलो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएको खबरपछि उनी ढुक्कले घर फर्किएका थिए । उनी ५ महिनापछि घर फर्किएका हुन् । घरमा श्रीमती र दुई छोरी छन् । रोजगारीका सिलसिलमा ५ महिनाअघि दिल्ली गएका उनी लगातारको बसको यात्राबाट थकित थिए ।

दुई महिनाको लकडाउन र बल्लतल्ल भारतीय प्रहरीको सहयोगमा नेपालको सीमा क्षेत्रसम्म आईपुगेका उनी सीमा कटेलगत्तै नेपाली सुरक्षाकर्मीको नियन्त्रण, क्वारेन्टाइन, आरडीटी र पीसीआर परीक्षणलगायतका प्रक्रियाबाट थप थाकेका थिए ।

क्वारेन्टाइनबाट घर फर्किन पाउने भएपछि उनलाई लिन गाउँबाट उनका साला आएका थिए । घर पुगेका उनले शुक्रबार साँझको खाना परिवारसँगै खाएका थिए । घर आए पनि उनलाई परिवारका सदस्यसँग धेरै घुलमिल हुन नदिएको संक्रमितका बुबाले भने । ‘दिल्लीबाट आएकाले हामीले घरमा होसियारी गर्यौं‍ । परिवारका सदस्यसँग धेरै घुलमिल हुन दिएनौं,’ बुबाले भने ।

बाह्रदशी गाउँपालिकामा उनी दोस्रो संक्रमित हुन् । यसअघि बैशाख १४ गते वडा नं. ४ का ४९ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । बिराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा उपचारपछि उनी घर फर्किसकेका छन् । कोभिड संक्रमितको संख्या जिल्लामा ३७ पुगेको छ ।

हप्ता दिन यतामात्र जिल्लामा ३५ जना संक्रमित थपिएका छन् । उनीहरु सबै भारतबाट लुकीछिपी नेपाल भित्रिएका हुन् । जिल्लामा जेठ महिना लागेयता भारतको दिल्ली, मुम्बई, उत्तर प्रदेशलगायत स्थानबाट लुकीछिपी एक हजार तीन सयभन्दा बढी मानिस झापा हुँदै नेपाल प्रवेश गरेका छन् ।

भारतबाट ठूलो संख्यामा मानिस आएकोले जिल्लामा पीसीआर परीक्षणका लागि स्वाब नमुना संकलन गर्ने कार्यलाई तीव्रता दिइएको छ । जिल्लाको कचनकवल गाउँपालिकामा ३३ बाह्रदशी गाउँपालिकामा २ तथा दमक नगरपालिका र झापा गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित : जेष्ठ ११, २०७७ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?