२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

भारतबाट प्रवेश गर्नेहरुलाई ‘होल्डिङ सेन्टर’ मा राखिँदै

माधव घिमिरे

विराटनगर — संक्रमण फैलन नदिन नेपाल–भारत दुवैतर्फ लकडाउन लागू गरिएको र सीमा क्षेत्रबाट आउजाउ रोकिएको भए पनि आउने क्रम जारी छ । भारतका विभिन्न स्थानमा रोजगारीका लागि बसेकाहरु घर फर्कनका लागि सीमानजिक आएका छन् ।

त्यसरी आएका कतिपयलाई प्रवेश गराउन थालिएको छ । उनीहरुलाई सीमावर्ती स्थानीय तहमा बनाइएको ‘होल्डिङ एरिया’ र क्‍वारेन्टाइनमा राख्‍न थालिएको छ । केही दिनयता विभिन्न नाका भएर प्रवेश गरेका ७ सय १८ जनालाई ती स्थानमा राखिएको छ ।

प्रदेश १ प्रहरी कार्यालयको तथ्यांक अनुसार पूर्वका सीमामा भारतका विभिन्न स्थानबाट करिब दुई हजार मानिस आएका छन् । ती सबै सीमापारि रोकिएका छन् । झापामा १४ सयभन्दा बढी, मोरङको सीमापारि करिब साढे ३ सय, सुनसरीमा सयभन्दा बढी र इलामको सीमापारि ६३ जना आएर बसेका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार सीमासम्म आउने क्रम जारी छ । प्रदेशभरका जिल्लाको सीमानजिक आइपुगेकाको तथ्यांक संकलन भइरहेको उनले बताए ।

त्यसरी आएकाहरुलाई सीमा नजिकका क्षेत्रमा होल्डिङ सेन्टर र क्‍वारेन्टाइनमा राखिने प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य परीक्षण समेत गरिने भएको छ । संक्रमण देखिए कोभिड उपचार केन्द्रमा र नदेखिए सम्बन्धित स्थानीय तहमा पठाएर क्वारेन्टाइनमा राखिने मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरे भारतमा रेल र बस सेवा खुला गरिएकाले नेपाल फर्कनेहरुको संख्या बढ्ने अनुमान गरिएको बताउँछन् । मन्त्रालयले १० हजारभन्दा बढी नेपाल प्रवेश गर्न सक्ने अनुमान गरेको छ । यो अवस्थालाई ध्यान दिएर परीक्षणको दायरा बढाउने सरकारको योजना छ ।

प्रकाशित : जेष्ठ ११, २०७७ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?