कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीटीएम किट सकिएपछि झापामा स्वाब संकलन नै रोकियो

पर्वत पोर्तेल

काँकडभिट्टा — ३३ जना कोरोना संक्रमित भेटिएको कचनकवल गाउँपालिकामा भीटीएम किट अभावका कारण तीन दिनदेखि स्वाब संकलन रोकिएको छ । क्वारेन्टाइनमा रहेका १ सय ३३ जनाको पीसीआर परीक्षण हुन सकेको छैन ।

भीटीएम किट सकिएपछि झापामा स्वाब संकलन नै रोकियो

प्रदेश तथा संघीय दुवै सरकारले भीटीएम किट पठाएका छैनन् । प्रदेशमा समेत किट अभाव रहेको बताइएको छ ।

झापाको मेचीनगरमा पनि किट नहुँदा रगतबाट गरिने र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रोकिएको छ । मेचीनगरकी स्वास्थ्य शाखा प्रमुख शशिकला राईले किट सकिएको बताइन् । त्यहाँका विभिन्न होल्डिङ सेन्टरमा भारतबाट आएका करिब एक हजार जना छन् । शुक्रबार ३ सय १५ जनाको आरडीटी गरिएकोमा १५ वटा नमुनामा पोजिटिभ देखिएको राईले जनाइन् । उनका अनुसार किट नआउन्जेल अन्यको आरडीटी गर्न सकिँदैन ।

आरडीटीमा पोजिटिभ देखिएकालाई पनि संक्रमण यकिन गर्न भीटीएममार्फत स्वाब संकलन गरी पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ । १५ जनाको स्वाब परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चम्लागाईंले जनाए । ‘स्वाबको पीसीआर रिपोर्ट पनि पोजिटिभ देखियो भने मात्रै उनीहरूमा कोरोना पुष्टि हुन्छ’, उनले भने, ‘आरडीटी पोजिटिभ आउँदैमा आत्तिनु पर्दैन ।’

भारतमा अलपत्र परेर हालै भित्रिएका करिब एक हजारलाई मेचीनगर–६ को काँकडभिट्टा मावि, वडा नं ८ को आदर्श मावि र मेचीनगर–११ को स्वास्थ्य चौकी भवनमा रहेको होल्डिङ सेन्टरमा राखिएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७७ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?