१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

लकडाउनले फेरिएको पेसा

कोही तरकारी बेच्छन् त कोही मोटरसाइकलमा दूध बोकेर गाउँगाउँ पुर्‍याउँछन्
विनोद भण्डारी

विराटनगर — लकडाउनअघि राजमिस्त्रीको काम गर्दै आएका विराटनगर–४ इक्राहीका सुरेश यादवको पेसा अहिले फेरिएको छ । दुई महिनायता उनी साइकलमा तरकारी लोड गरेर टोलटोलमा बिक्री गर्दै हिँड्न थालेका छन् ।

लकडाउनले फेरिएको पेसा

‘लकडाउनले काठको काम नै बन्द गर्‍यो । परिवारको गुजराका लागि पेसा नै परिवर्तन गर्नुपर्‍यो,’ यादवले भने, ‘साइकलमा तरकारी बोकेर बिक्री गर्न हिँड्न थालेको छु ।’

विराटनगर–५ मुनालपथका अमित देवको पनि दुई महिनायता पेसा परिवर्तन भएको छ । महानगरपालिकाको ढाटछेउ एक बर्षदेखि बिर्यानीको व्यापार गर्दै आएका उनी तरकारी व्यापारी बन्न पुगेका छन् । ‘लकडाउनले व्यापार ठप्प भयो,’ उनले भने, ‘बिर्यानी हाउसमै तरकारी पसल थापेको छु ।’ उनका अनुसार पहिले दैनिक १०–१२ हजारको बिर्यानी बिक्री हुन्थ्यो ।

महानगरको बरगाछीमा खसी काटेर मासु बिक्री गर्दै आएका कमुद्दिन मिया पनि लकडाउनपछि ठेलामा तरकारी बेच्न थालेका छन् । उनका अनुसार पहिले दैनिक २ वटा खसी काटेर ४० देखी ५० किलो मासु बेच्थे । कमाइले १० जनाको परिवार पाल्न समस्या थिएन । ‘लकडाउनले खसी काट्ने पेसा बन्द भएपछि परिवारको गुजाराकै लागि ठेलामा तरकारी बिक्री गर्न थालेको हुँ,’ उनले भने । मियाले चार हजार रुपैयाँ लगानी गरेर टमाटर, आलु, काँक्रा, भिन्डीलगायत तरकारी बिक्री गर्न थाले । दैनिक एक हजारको तरकारी बेच्दा तीन सय रुपैयाँ नाफा हुने गरेको उनको अनुभव छ । आम्दानी नगरी घरमा बस्नुभन्दा बिहान–बेलुका लकडाउन खुकुलो भएको समयमा तरकारी बेचेर केही कमाउनु उत्तम भएको मियाले बताए ।

विराटनगर विमानस्थलको मोडमा फास्टफुड एन्ड क्याफे सञ्चालनको अन्तिम तयारीमा बसेका दीपेन्द्र उराउ पनि पछिल्लो समय तरकारी बिक्रेता बनेका छन् । उनी क्याफेकै अगाडि टेबुलमा पसल लगाएर बिहान तीन घण्टा र बेलुका एक घण्टा तरकारी बिक्री गरिरहेका छन् ।

ऋण काढेर खोलेको क्याफे सञ्चालन गर्नै लाग्दा लकडाउन भएपछि उनी समस्यामा परेका छन् । ‘बैंकको ब्याज बढेको बढ्यै छ, घरखर्च चलाउने पैसासमेत छैन । त्यही भएर क्याफेकै अगाडि बाध्य भएर तरकारी पसल खोलेको छु,’ उनले भने । सरकारले तरकारी, दूध, दैनिक उपभोग्य वस्तु खरिदबिक्री गर्न बिहान तीन र बेलुका दुई घण्टा पसल खोल्न दिने गरेको छ ।

बूढीगंगा गाउँपालिकाका नजमल हुसैन लकडाउनअघि घर निर्माणको काम गर्थे । उनी मिस्त्री हुन् । लकडाउनको दुई सातासम्म चुपचाप बसेका उनले तेस्रो सातादेखी साइकलमा सबै साइजको चप्पल राखेर गाउँगाउँ गई बिक्री गर्न थाले । यो पेसाबाट दैनिक चार सयजति आम्दानी हुने गरेको हुसैन बताउँछन् ।

विराटनगर–४ इक्राहीका उमेश यादव एक निजी कम्पनीमा मुन्सीको काम गर्थे । लकडाउनले कम्पनी बन्द भएपछि यस बेला दूध बिक्रेता बनेका छन् । मोटरसाइकलमा दूधको भाँडो बोकेर गाउँगाउँ पुग्छन् । ‘दूध विक्रीबाट हुने आम्दानीले डेढ महिनायता परिवारको गर्जो टर्दै आएको छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ ११, २०७७ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?