२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

कोभिड अस्पतालमा जडान भएन उपकरण, संक्रमितलाई अन्यत्र पठाइँदै

बीपी प्रतिष्ठानको कोभिड-१९ अस्पतालको उपकरण जडानमा टेन्डर प्रकियाले ढिलाइ भएको छ । हाल संक्रमितलाई यहाँ नराखेर विराटनगर पठाउने गरिएको छ ।
प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा अझै पनि महत्वपूर्ण उपकरण जडान हुन सकेका छैनन् । गत वैशाख १३ गते उक्त अस्पतालको अनौपचारिक उद्घाटन गरिएको थियो ।

कोभिड अस्पतालमा जडान भएन उपकरण, संक्रमितलाई अन्यत्र पठाइँदै

करिब १२ करोड ५० लाख रुपैयाँ लागतमा स्थापना गरिएको अस्पतालमा भेन्टिलेटरसहितको १३ आइसीयू बेड, अल्ट्रासाउन्ड, अत्याधुनिक एक्स–रे, डेफिब्रिलेटर, संक्रमित बच्चाका लागि पेडियाट्रिक आईसीयू, डायलसिस, अप्रेसन थिएटर, हाई डिपेन्डेन्सी युनिट, प्रयोगशाला, गाइनो वार्ड लगायतका उपकरण राखिने भनिएको थियो । हालसम्म माग गरिएका कुनै उपकरण आएका छैनन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अनौपचारिक उद्घाटन गरेको अस्पतालका लागि चाहिने उपकरण अझै जडान नभएपछि संक्रमितलाई उपचारका लागि यहाँ नराखेर विराटनगर पठाउने गरिएको छ । कतिपयलाई प्रतिष्ठानले आइसोलेसन वार्ड बनाएको पेइङ वार्डमा राखिएको छ ।

प्रतिष्ठानले संघीय सरकार र प्रदेश सरकारको करिब १२ करोड ५० लाख रुपैयाँको लागतमा कोभिड अस्पताल बनाएको बताए पनि हालसम्म आवश्यक उपकरण जडान नहुँदा संक्रमितको उपचारमा समस्या भएको प्रतिष्ठान स्रोतले जनाएको छ । प्रतिष्ठानका उपकुलपति प्राडा. ज्ञानेन्द्र गिरिले माग गरिएका उपकरणका लागि विधिवत् प्रक्रिया पुर्‍याएर पारदर्शी रुपमा टेन्डर गर्नुपर्ने भएकाले केही ढिलाइ भएको बताए । ‘प्रकिया सकिएको छ, यो साता उपकरण जडान हुन्छ,’ उनले भने, 'सरकारले यो अस्पताललाई संक्रमितका उपचारका लागि पहिलो नम्बरमा राखेको छ ।' उनले कतिपयले कुरा नबुझेर कोरोना संक्रमित बिरामी प्रतिष्ठानबाट अन्यत्र पठाएको गुनासो गरेको सुनेको बताए । ‘संक्रमित भए पनि सामान्य अवस्थाकालाई अन्यत्र पठाएको हो,' उनले भने, 'यहाँ कोरोनाका गम्भीर बिरामीलाई मात्र बढी प्राथमिकता दिएर राखिन्छ भन्ने बुझ्न जरुरी छ ।’

उनका अनुसार अहिले प्रतिष्ठानमा २ सय ६० बेडको कोरोना अस्पतालको क्षमता छ । संक्रमितको संख्या बढ्दै गए र गम्भीर बिरामी थपिए प्रतिष्ठानको एकेडेमिक हलमा ३ सय बेडमा विस्तार गर्न सकिने उनको भनाइ छ ।

सरकारले प्रतिष्ठानमा द्वन्द्वपीडितहरुको नि:शुल्क उपचारका लागि बनाएको पुनर्स्थापना केन्द्रको भवनलाई कोभिड–१९ अस्पताल बनाएको हो । उक्त भवन पहिले हाडजोर्नी विभागमातहत फिजियो थेरापीको इकाइ रहेको थियो ।

प्रकाशित : जेष्ठ १०, २०७७ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?