पाथीभराको ७० क्विन्टल सिक्का झारियो

आनन्द गौतम

ताप्लेजुङ — पाथीभरा मन्दिरमा जम्मा भएको ७० क्विन्टल ३० किलो सिक्का काफ्लेपाटी झारिएको छ । भेटीपाती व्यवस्थापन समितिले अघिल्ला वर्षदेखि थन्किएको पैसा स्थानीय जनशक्ति प्रयोग गरेर झारेको हो ।

लकडाउनको समयमा स्थानीयलाई रोजगारी पनि हुने र पैसा पनि सदरमुकाम पुर्‍याउने उद्देश्यले झारिएको भेटीपाती व्यवस्थापन समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताए । मादेनका अनुसार काफ्लेपाटीदेखि सदरमुकामसम्म गाडीमा ल्याइने छ । मन्दिरबाट झारिएको सिक्का काफ्लेपार्टीको सूचना केन्द्रको भवनमा राखिएको छ ।

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिरबाट काफ्लेपाटी ४.५ किलोमिटर दूरीमा छ । त्यहाँसम्म ल्याउनेलाई प्रतिकिलो १६ रुपैयाँका दरले ढुवानी भाडा दिएको समितिका कर्मचारी राजेन्द्र महत बताउछन् । पैसा बोक्न ६० जना मन्दिर पुगेका थिए । उनीहरु माथिल्लो फेदी, काफ्लेपाटी, फावाखोला, फुरुम्वू, लिंखिमका हुन् । ओरालो झार्नुपर्ने भएकाले लड्ने र घाइते हुनसक्ने भन्दै एकजनालाई ५० किलोसम्म मात्रै बोक्न दिइएको माथिल्लो फेदी अस्थायी प्रहरी चौकीका इन्चार्ज धनराज तुम्बापोले बताए ।

‘धेरै बोके धेरै पैसा हुन्छ भनेर बल गर्छन्,’ तुम्बापोले भने, ‘तर ढुंगा ओछ्याएको बाटोमा लडिहालेको खण्डमा जोखिम हुनसक्छ भनेर सबैले निर्णय नै गरेर बोक्ने क्षमता अनुसार बढीमा ५० किलो मात्रै दियौं ।’ ५० किलो बोक्नेले एक पटकमा ८ सय रुपैयाँ कमाइ गरे । सहज अवस्थामा यतिको परिमाणमा सिक्का पैसा बोक्न कम्तिमा दुई महिना लाग्थ्यो । महतका अनुसार पैसा बोक्न मजदुर पाउनै मुस्किल थियो । तर यो पटक तीनदिनमै बोकी सकिएको उनले जानकारी दिए । अरु सामानको तुलनामा सिक्का पैसा बोक्न कठिन हुने बोक्नेहरु बताउँछन् । बोरामा बोक्दा ढाडमा घोच्ने र बोकेर हिँड्न कठिन हुने भएकाले अधिकांशले ढाकर र डोको प्रयोग गरेका थिए ।


तस्बिर साैजन्य : धनराज तुम्बापो

पहिला धेरैजसो तीर्थालुहरु बली चढाउन बोका पाठा लिएर जान्थे । पछिल्लो समय बली प्रथा कम हुँदै गएको छ । पाथीभरामा माना, पाथी र मुठीले भरेर सिक्का चढाउने क्रम बढेको छ । अधिकांशले सिक्का बोकेर लाने र पाथीमा भरेर तीन फन्का मन्दिर घुमाएर चढाउने गरेको पुजारी डिल्ली आचार्य बताउँछन् । यो क्रम बढेपछि मन्दीरमै पनि सिक्का पाउने व्यवस्था समितिले मिलाएको छ । आठ हजार नोट दिए एक पाथी सिक्का पाइने महतले बताए । एकपाथीमा २२ किलो सिक्का हुन्छ । सफा सिक्काको तौलको आधारमा नोट सटही हुन्छ । एक रुपैयाँको सिक्काको तौल चार र दुई रुपैँयाको पाँच ग्राम तौल हुन्छ । सुकिलो सिक्का भए ४ किलोको एक हजार रुपैंया हुन्छ । गन्न झन्झट हुने भएकाले सिक्का सटही गर्नेले यसरी नै हिसाव कारोबार गर्ने बैंकहरुले जनाएका छन् । भिज्न र माटोमा पर्न नदिइ राखे सिक्का नबिग्रने बैंकको दाबी छ ।

गत वर्ष झापा दमकको कन्काइ बैंकले धुने, टल्काउनेसमेत जिम्मा लिएर सिक्का लगेको थियो । राष्ट्र बैंकले माटो लागेको सिक्का रिट्ठाको धुलो, सरफ पानीले धोएर धानको ढुटोले सफा गर्न सुझाउने गरेको छ । दर्शनार्थीको भीड हुने सिजनमा दैनिक दुई क्वीन्टल बढी सिक्का जम्मा हुनेगरेको छ । एकै दिनमा १६ पाथीसम्म जम्मा भएको कर्मचारी राजेन्द्र महत बताउछन् । मौसम राम्रो हुँदा रामनवमी पर्वको समय फागुनदेखि वैशाख र दसैंको सिजन असोजदेखि मध्य मंसिरसम्म मानिसहरुको अधिक भीड लाग्ने र धेरै सिक्का जम्मा हन्छ । यो वर्षको यो सिजनमा भने लकडाउनका कारण सिक्का जम्मा भएन ।

प्रकाशित : जेष्ठ १०, २०७७ १३:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तारे होटलले बास नदिएपछि कोभिड अस्पतालका डाक्टरलाई मझौलामा सारियो 

सुरज कुँवर

काठमाडौँ — राजधानीसहित विभिन्‍न स्थानमा तोकिएका कोभिड अस्पतालमा कार्यरत चिकित्सक, नर्ससहित स्वास्थ्यकर्मीका लागि तारे होटलहरुले क्‍वारेन्टाइन बनाउन नदिएपछि सरकारले मझौला होटलमा राख्‍ने भएको छ ।

पर्यटन बोर्डका कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीका अनुसार तारे होटलहरुको छाता संगठन होटल संघ नेपाल (हान) ले आफ्ना सदस्य होटलहरुलाई क्वारेन्टाइन बनाउन अस्वीकार गरेपछि मझौला होटलहरुमा राखिने निर्णय भएको छ ।

‘काठमाडौं लगायतमा रहेका स्टार होटलहरुको संगठनकी अध्यक्ष सृजना राणाले मान्नुभएन,’ सरकारले स्वास्थ्यकर्मीहरुको बास व्यवस्थाका लागि संयोजनकारी भूमिकामा राखिएका बोर्डका सीईओ रेग्मीले कान्तिपुरसँग भने, ‘हानले अस्वीकार गरेको प्रस्ताव मझौला होटलहरुको व्यवसायिक संगठन होटल व्यवसायी महासंघले स्वीकारेको छ ।’

सीईओ रेग्मीका अनुसार, आइतबारदेखि राजधानी लगायत कोरोना प्रभावित क्षेत्रमा सरकारले तोकेका कोराना अस्पतालका दर्जनौं चिकित्सक, नर्स, प्राविधिक लगायतका स्वास्थ्यकर्मीहरु होटलमा स्थापना गरिएका क्वारेन्टाइनमा बस्ने छन् । ‘कुनै अस्पतालका स्वास्थ्यकर्मीहरु ७ दिन अस्पतालमा काम गर्ने छन् ७ दिन होटलको क्वारेन्टाइनमा बस्ने छन्,’ स्वास्थ्यमन्त्रीका सल्लाहकार डा. खेम कार्कीले कान्तिपुरसँग भने । उनका अनुसार विभिन्‍न अस्पतालले आफ्नो जनशक्तिको विवरण अनुसार ७ देखि १४ दिनसम्म होटलको क्वारेन्टाइनमा राख्ने छन् ।

एक स्वास्थ्यकर्मीलाई एउटा कोठामा राखिने छ । महासंघले आफ्ना सदस्य होटलमा प्रति व्यक्ति २ हजार रुपैयाँ प्रति दिनका दरले राख्‍न सहमत भएको अध्यक्ष हिराध्वज शाहले कान्तिपुरसँग बताए । उनका अनुसार काठमाडौंको सुन्धारा, कलंकी, बागबजार, बालाजु, गंगोबु, चाबहिलमा रहेका मझौला होटल यस महासंघका सदस्य हुन् ।

देशभर ८० हजार होटल आफ्ना सदस्य रहेको बताउने शाहका अनुसार उपत्यकाभित्र ललितपुरबाहेक अन्य सबै जिल्लामा यसमा आबद्ध सदस्य होटल छन् । सीईओ रेग्मीका अनुसार उपत्यकाभित्रका चिकित्सकहरुलाई नजिकै पायक पर्ने स्थानका होटलमा राखिने छ । उनीहरुको होटललाई तिर्नुपर्ने भुक्तानी स्वास्थ्य मन्त्रालयमार्फत गरिने छ । मन्त्रीका सल्लाहकार डा. कार्कीले यस शिर्षकमा निश्चित बजेट नतोकिएको बताउँदै सरकारले परिस्थिती अनुकूल बजेटको आकार पनि बढाउँदै लैजाने बताए ।

३ सय ५० बढी होटलको व्यवसायिक संस्था हानकी अध्यक्ष सृजना राणाले तारे होटलहरु तयारी अवस्थामा नरहेको र विदेशबाट फर्किन लागेका नेपालीहरुलाई राख्ने कार्यक्रम तय भइसकेकाले हाललाई स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको होटललाई क्वारेन्टाइन बनाउने प्रस्ताव स्वीकार गर्न नसकिएको बताइन् । ‘दिन मान्ने नमान्ने होटलवालाहरुको अधिकार हो,’ दरबारमार्गस्थित होटल अन्नपूर्णकी सञ्‍चालक राणाले भनिन्, ‘अहिले कर्मचारी पनि छैनन् । तारे होटलहरु खराब अवास्थामा छन् । स्वास्थ्य मन्त्रालयको बजेट कति हो भन्‍ने पनि हामीलाई थाहा छैन । उहाँहरुको बजेट अनुसार, पर्यटन बोर्डले मिलाइसकेको सुनेकी छु ।’

हानले चैत्र पहिलो साता सरकारले तारे होटललाई क्वारेन्टाइनका लागि गरेको प्रस्तावमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको छलफलमा सदस्य होटललाई क्वारेन्टाइनमा बदलेर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित : जेष्ठ १०, २०७७ १३:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×