कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

प्रदेश १ मा पीसीआर परीक्षण बढाइँदै

विराटनगर — प्रदेश १ मा ४० हजारभन्दा बढी व्यक्तिको पीसीआर विधिबाट संक्रमण भए, नभएको परीक्षण गरिने भएको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकमा यस्तो निर्णय भएको हो ।

प्रदेश १ मा पीसीआर परीक्षण बढाइँदै

उक्त बैठकले कोभिड-१९ को परीक्षण कार्ययोजना स्वीकृत गरेको छ । भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरु र प्रदेशभित्र कोभिड–१९ संक्रमित पहिचानको लागि परीक्षणको दायरा बढाउन लागिएको हो । दैनिक एक हजारका दरले पीसीआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री राईले बताए ।

स्वीकृत भएको कार्ययोजनाले स्वाब परीक्षणका लागि जिल्लाहरुको वर्गीकरण समेत गरेको छ । उच्च जोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा वर्गीकरण गरिएको छ ।

उच्चजोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कुल जनसंख्याको ०.५ प्रतिशत नागरिकको कोरोना परीक्षण गर्न लागिएको हो । प्रदेश १ मा चार हजार एक सय बढीको पीसीआर परीक्षण भइसकेको छ ।

कोभिड—१९ को नियन्त्रण, उपचार व्यवस्थाका लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताहरुको समेत बढाइने भएको छ । यसका लागि कोसी कोभिड अस्पतालमा १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा २ सय, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३ सय, कृष्णदास आश्रम बराहश्रेत्रमा २ सय र नेपाली सेना इटहरीमा ५० गरी ८ सय ५० बेड थपिने भएको छ ।

यसैबीच प्रदेश मा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरुको व्यवस्थापन गर्ने संयुक्त कार्ययोजना समेत स्वीकृत गरिएको छ । स्वीकृत कार्ययोजना अनुसार इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा होल्डिङ्ग एरिया पहिचान गरी निर्माण समेत थालिएको छ ।

होल्डिङ्ग एरियामा १५ हजार बेड संख्या रहने भएको छ । इलाममा २ हजार, झापामा ४ हजार, मोरङमा ५ हजार र सुनसरीमा ४ हजार बेड तयार गरिंदै छ । यी जिल्लाका १० ठाउँमा ११ सय ३ वटा बेड बनिसकेका छन् ।

प्रकाशित : जेष्ठ ९, २०७७ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?