प्रदेशमा लगानी सम्भाव्यता प्रतिवेदन तयार

विराटनगर — प्रदेश १ मा लगानी सम्भाव्यता क्षेत्रहरुको अध्ययन गरी प्रतिवेदन तयार गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले प्रदेशमा लगानीका सम्भाव्यताका क्षेत्रको अध्ययन गरी तयार पारिएको प्रतिवेदन प्रदेश सरकारलाई शुक्रबार हस्तान्तरण गरेको छ ।

प्रदेशमा लगानी सम्भाव्यता प्रतिवेदन तयार

महासंघ प्रदेश समितिका उपाध्यक्ष राजेन्द्र राउतले मुख्यमन्त्री शेरधन राईलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । महासंघले पहिलो प्राथमिकता क्षेत्रका रुपमा जारी लकडाउन र विश्वव्यापी आर्थिक मन्दीका कारण संकटमा रहेका कृषि तथा गैरकृषि उद्योगभन्दा कलकारखानाहरुको पूर्ववत् अवस्थामा फर्काउन प्रयास गर्नुपर्ने औंल्याएको छ ।

आगामी दिनमा उत्पादन र रोजगारीको क्षेत्रलाई सम्बोधन गर्न आवश्यक आर्थिक एवं वित्तीय राहत, सहुलियत, क्षमता विस्तारका लागि प्राविधिक, आर्थिक एवं नीतिगत सहजीकरणका लागि आगामी वर्षको नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

सम्भावित क्षेत्रहरुमा लगानी प्रोत्साहन गर्ने, निजी क्षेत्रका लगानीकर्तालाई सहजीकरण गर्ने तथा सार्वजनिक निजी सहकारी साझेदारीका अवधारणामा आर्थिक वृद्धि लक्षित क्षेत्रहरुलाई नीतिगत, व्यावहारिक एवं आर्थिक सहकार्यका प्याकेजहरु मार्फत अघि बढाउने उल्लेख गरिएको छ ।

व्यावसायिक कृषि तथा पशुपालन, फार्म स्थापना, बजार प्रवन्ध, कृषि र पशुपालनमा आधारित उद्योग एवं व्यवसायमार्फत् रोजगारीका अवसरहरु सिर्जना, कृषिमा यान्त्रीकीकरण एवम् आधुनिकीकरण लगायत क्षेत्र काम गर्नुपर्ने उल्लेख गरिएको छ ।

कृषियोग्य भूमिको अधिकतम प्रयोग, चक्लाबन्दी, करार खेती, भूमि बैंक स्थापना लगायत व्यावसायिक आधुनिक कृषिका क्षेत्रहरुको पहिचान गरी कृषि पर्यटनको पूर्वाधार एवं व्यवसायको विकास गर्न महासंघले आग्रह गरेको छ ।

निर्यातयोग्य कृषि उपजहरुको ब्राण्डिङ, प्याकेजिङ, प्रमाणीकरण, निर्यात बजार खोजी र प्रवद्र्धन गर्ने, प्रदेश १ मा रहेका निर्यातयोग्य कृषि उपजहरुको सम्भावित बजार खोजी, निर्यात विविधीकरणका लागि सहकार्य गर्न प्रतिवेदनमा सुझाइएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७७ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?