रतुवामाईका संक्रमित भारतबाट लुकीछिपी आएका थिए

देवनारायण साह

मोरङ — रतुवामाई नगरपालिका २ का ४१ वर्षीय पुरुषमा शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी बुधबार बिहान भारतको अहमदाबादबाट आएका थिए । रोजगारीबाट फर्केका उनको समूहमा तीन जना थिए ।

रतुवामाईका संक्रमित भारतबाट लुकीछिपी आएका थिए

अन्य दुई जनामा संक्रमण देखिएन । उनीहरूको बुधबारै स्वाब संकलन गरिएको थियो । उनलाई कोभिड १९ उपचार केन्द्र विराटनगरमा ल्याउने तयारी भइरहेको रतुवामाई नगर प्रमुख रविन राईले बताए ।

लुकिछिपी नेपाल प्रवेश गरेका उनीहरुलाई सीमाबाटै नियन्त्रणमा लिएर नगरपालिकाको क्‍वारेन्टाइनमा राखिएकोले गाउँमा संक्रमण फैलिनबाट जोगिएको राईले बताए ।

पछिल्लो संक्रमित व्यक्ति फेला परेसँगै मोरङमा ५ जनामा कोरोना पुष्टि भएको छ । जेठ २ गते रतुवामाई नगरपालिका १ का २५ वर्षीय युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनी पनि रोजगारी गरेर भारतको मुम्बईबाट फर्केका थिए ।

रतुवामाई नगर प्रमुख राईले भारतमा रोजगारी गरेर लुकीछिपी फर्केकाहरुमा संक्रमण देखिएको बताए । अझै ठूलो संख्यामा भारतमा रोजगारी गरेर फर्किरहेको सूचना आएकोले व्यवस्थापनका लागि तयारीमा जुटेको उनले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७७ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?