१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

‘होचो’ कचनकवलमा कोरोना कहर 

चार दिनमा ३३ संक्रमित
पर्वत पोर्तेल

काँकडभिट्टा — नेपालकै ‘होचो’ स्थानमा छ कचनकवल गाउँपालिका । कोरोनाले विश्व महाव्याथीको रुप धारण गर्नुअघि कचनकवलमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने विभिन्न योजना बुनिँदै थियो । जब कोरोनाको संक्रमणसँगै देशमा लकडाउन भयो, सरकारले पर्यटन भ्रमण वर्ष स्थगन गर्‍यो ।

‘होचो’ कचनकवलमा कोरोना कहर 

सँगै तुहियो कचनकवलको पर्यटक भित्र्याउने योजना ।

समुद्री सतहदेखि ५८ मिटर उचाईमा रहेको मुलुककै होचो भूभाग देशको चिनिएको पर्यटकीय गन्तव्य पनि हो । तर, यतिबेला कोरोनाको कहरले कचनकवल आक्रान्त छ ।

भारत विहारको किसनगञ्ज जिल्लासँग साँधसीमा जोडिन्छ । मधेसी र मुस्लिम बाहुल्य यो गाउँपालिकामा गत सोमबारदेखि संक्रमितहरुको संख्या लगालग थपिएको थपिएै छ । जसको मुख्य जड भारतसँगको खुला सीमा नै हो ।

गत सोमबार जिल्लामा तेस्रो संक्रमितको सूचीमा परे यहाँका २३ वर्षीय युवक । उनी गत शुक्रबार मुम्वईबाट आएका थिए । लुकिछुपी छिर्न लाग्दा सुरक्षाकर्मीले देखेर उनीसहित ११ जनाको टोलीलाई क्वारेन्टाइनमा राखिएको थियो । अहिले एघारै जना संक्रमित भए ।

गत वैशाख १२ मा जिल्लामा पहिलो संक्रमण दमकबाट सुरु भएको थियो । त्यसपछि बाह्रदसी गाउँपालिकामा संक्रमित थपिए । पहिलो र दोस्रो संक्रमित भेटिएको महिना दिन नबित्दै कचनकवलमा संक्रमण देखियो । सोमबारदेखि बिहीबारसम्म कचकवलमा मात्रै ३३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमले भने, ‘कोरोना संक्रमण देखिएसँगै स्थानीयवासी त्रस्त छन् ।’ उनका अनुसार भारतबाट आएका नेपालीलाई प्रवेश नगराइएको भए सायद संक्रमण हुने थिएन । आलमले भने, ‘नेपाली दाजुभाइ अलपत्र देखेर माया जाग्यो, ल्याइयो, त्यसपछि धमाधम संक्रमण देखिन थाल्यो ।’ उनका अनुसार भारतबाट नल्याउन्जेल कचनकवल कोरोनामुक्त थियो ।

लगालग संक्रमण पुष्टि भएपछि गाउँपालिकालाई पाँच दिनका लागि सिल गरिएको छ । जसका कारण सिंगो गाउँपालिका चकमन्न छ । स्थानीयबासी घरभित्रै छन् । सीमा नाकामा थप कडाई गरिएको छ । भारतबाट आउनेहरुको चाप उस्तै छ । उनीहरुलाई भारततिरै रोकेर राखिएको छ । ‘भारतबाट आएकालाई तत्काल प्रवेश गराउने पक्षमा हामी छैनौं’, आलमले भने, ‘गाउँपालिकालाई सोत्तर पार्न हामी चाहँदैनौं ।’

कचनकवल क्षेत्रमा संक्रमित पुष्टि भएसँगै नजिकबाट अध्ययन गरिरेका जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन अध्यक्ष जीवन चम्लागाईँले क्वारेन्टाइनमा रहेकाहरुमा मात्रै संक्रमण देखिएकाले समुदायसम्म संक्रमण बढ्ने सम्भावना न्यून भएको जनाए । ‘संक्रमितहरु घर पस्न नपाउदै क्वारेन्टाइन पुर्‍याएर राम्रो गरियो’, उनले थपे, ‘नत्र समुदायमै संक्रमण फैलिन सक्ने खतरा थियो ।’

संक्रमित थपिएसँगै गाउँपालिकाले भारतबाट आएकाहरुलाई राख्न थप दुई वटा क्वारेन्टाइन बनाएको छ । जानकी आधारभूत विद्यालय र महेन्द्ररत्न माविमा क्वारेन्टाइन बनाएर भारतबाट आएकालाई राखिएको छ । पहिला पथरिया मावि र लक्ष्मीप्रसाद देवकोटा माविमा मात्रै क्वारेन्टाइन थियो । क्वारेन्टाइनमा हाल २ सय १२ जना छन् । सबै भारतवाट आएकाहरु मात्रै छन् ।

यस क्षेत्रका प्रदेश सांसद वसन्त बानियाँ दिनहुँ संक्रमितको संख्या बढ्दै जाँदा स्थानीयवासीमा त्रास उत्पन्न भएको बताउँछन् । ‘सर्वसाधारणमा अब के होला भन्ने जिज्ञासा व्याप्त छ,’ उनी भन्छन्, ‘तर, सबै संक्रमितहरु क्वारेन्टाइनबाट बाहिर नगएकाले समुदायमा फैलने जोखिम भने देखिदैन ।’

प्रकाशित : जेष्ठ ९, २०७७ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?