संक्रमित बढेपछि झापाका पालिका सिल गरिँदै

अर्जुन राजवंशी

बिर्तामोड — सीमावर्ती कचनकवल गाउँपालिकामा कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि झापाका अन्य पालिकाहरुले आआफ्ना प्रवेश नाकामा कडाइ गरेका छन् ।

संक्रमित बढेपछि झापाका पालिका सिल गरिँदै

छिमेकी कचनकवल गाउँपालिकामा बिहीबारसम्म ३३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएपछि हल्दिबारी गाउँपालिकाले आफ्ना सबै नाका बन्द गरेको छ । गाउँपालिकाभित्र संक्रमण फैलिन नदिन स्वास्थ्य सेवा, कृषि सेवा, अनुमति पाएका खाद्य पसल र विकास निर्माणका कार्य गर्न बाहेकका अन्य सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाले बिहीबार मध्यरातिदेखि लागू हुनेगरि नगर क्षेत्र सिल गरेको छ । अर्को सूचना नभएसम्मका लागि छिमेकी पालिकाबाट हुने प्रवेशलाई कडाइ गरिने नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्य सेवा, दुग्ध उत्पादन, तरकारी, कृषि बिउ विजनको सेवा मात्र सञ्चालन गर्न पाउने नगरपालिकाले निर्णय गरेको छ । नगरपालिकाले उपलब्ध गराएको पासका आधारमा नगरभित्र सञ्चालित विकास निर्माणका कामहरु भने सञ्चालन हुने मेयर ध्रुवकुमार सिवाकोटीले जानकारी दिए ।

कनकाई नगरपालिकाले पनि नगर क्षेत्रमा जेठ २० गतेसम्मका लागि अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । कनकाईले पनि छिमेकी पालिकाहरुबाट नगरभित्र प्रवेश गर्न सकिने सबै बाटाहरुमा कडाइ गरेको छ । झापामा ३५ जनामा कोरोना पुष्टि भएको छ । उनीहरुमध्ये २ जना उपचारपछि घर फर्किसकेका छन् । कचनकवलका ३३ जना संक्रमितहरुमध्ये १० जनाको विराटनगरस्थित कोसी अस्पतालको कोभिड उपचार केन्द्र तथा २३ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । झापामा चार दिनमा ३३ जनामा कोरोना पुष्टि भएको हो ।

प्रकाशित : जेष्ठ ९, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?