२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रदेश १ मा संक्रमितसँग सम्पर्कमा आएकाहरुको परीक्षण बढाइयो

मोरङ — संक्रमित पुष्टि भएका प्रदेश १ का विभिन्न स्थानका बासिन्दाको परीक्षण बढाइएको छ । संक्रमितका परिवार र उनीहरुसँग सम्पर्कमा आएकाहरुको परीक्षण बढाएसँगै थप संक्रमित देखिने क्रम जारी छ । प्रदेश १ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बिहीबार दिउँसोसम्म ७६ पुगेको छ ।

प्रदेश १ मा संक्रमितसँग सम्पर्कमा आएकाहरुको परीक्षण बढाइयो

प्रदेश सरकारको पछिल्लो तथ्यांकअनुसार पीसीआर विधिबाट प्रदेशभर ३ हजार ७ सय ७ जनाको परीक्षण गरिएको छ ।

यसैगरी आरडीटी विधिले ९ हजार ८ सय ३७ जनाको परीक्षण गरिएको छ । संक्रमित देखिएका झापाको कचनाकवल, धनकुटा, विराटनगर, सुनसरीलगायत स्थानका व्यक्तिहरुको स्वाब नमुना संकलन गरी प्रयोगशालामा परीक्षण भइरहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसरी परीक्षण गर्नेक्रममा झापा, धनकुटालगायत स्थानमा थप संक्रमित पुष्टि भएको हो । विराटनगरको कोसी अस्पताल, प्रादेशिक प्रयोगशाला र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षण गर्ने गरिएको छ ।

प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार झापाको कचनाकवलका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब नमुना परीक्षणका क्रममा बुधबार राति थप १० जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि झापाका थप १० जना व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा झापा, कचनकवल गाउँपालिका ३, ६ र ८ नम्बर वडाका व्यक्तिमा संक्रमण पुष्टि भएको जनाइएको छ । संक्रमितहरु १८ देखि ४६ वर्ष उमेर समूहका छन् ।

बुधबार बिहान झापा केचनाका ५, सुनसरी धरानकी एक महिला र धनकुटाका थप एकजनामा संक्रमण पुष्टि भएको थियो ।

झापामा संक्रमितको संख्या अब २७ पुगेको छ । उदयपुरमा ३३ जना, धनकुटामा ७, मोरङमा ४, सुनसरीमा ३ जना संक्रमित पुष्टि भएका छन् । भोजपुर र खोटाङमा एक–एकजनामा संक्रमण पुष्टि भएको छ ।

पहिलोपटक गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण पुष्टि भएको थियो । महिना बित्दा यसको प्रदेशका १४ मध्ये ७ जिल्लामा संक्रमण देखिएको छ । संक्रमितहरुलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखिँदै आएको छ । त्यहाँ राखिएकामध्ये बुधबारसम्म २६ जनालाई डिस्चार्ज गरिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षणको दायरा बढाइएकाले संक्रमितको संख्या बढी पाइएको मन्त्रालयको भनाइ छ ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कोसी अस्पताल र प्रादेशिक प्रयोगशालामा शंकास्पद संक्रमितको स्वाब नमुना परीक्षण हुँदै आएको छ । पछिल्ला दिन संक्रमित फेला परेका स्थानमा तिनका परिवार र उनीहरुको सम्पर्कमा आएकाहरुको स्वाब नमुना संकलन र परीक्षणको कामलाई तीव्रता दिइएको प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?