कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

संक्रमित बढेसँगै कचनकवलमा क्वारेन्टाइन थपिए

बिहीबार पुष्टि भएका १५ संक्रमित पनि भारतबाट लुकीछिपी आउँदा पक्रेर क्वारेन्टाइनमा राखिएकाहरू नै हुन् 
पर्वत पोर्तेल

काँकडभिट्टा — चार दिनभित्र झापामा २५ जना नयाँ संक्रमित थपिएका छन् । बिहीबार १५ नयाँ संक्रमित भेटिएका हुन् । उनीहरू सबै भारतको विहारसँग सीमा जोडिएको कचनकवल गाउँपालिकाका हुन् । 

संक्रमित बढेसँगै कचनकवलमा क्वारेन्टाइन थपिए

भारतबाट लुकीछुपी प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले पक्राउ गरेका उनीहरू सबै क्वारेन्टाइनमा थिए ।स्वास्थ्यकर्मीहरूले क्वारेन्टाइनमा बसेकाहरूमा मात्रै संक्रमण देखिएकाले समुदायमा फैलन सक्ने खतरा तुलनात्मक रूपमा कम रहेको जनाएका छन् । ‘भारतबाट आउनैबित्तिकै सोझै क्वारेन्टाइनमा लगेर राखिएकाले समुदायमा फैलने सम्भावना न्यून छ’, स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चम्लागाईंले भने, ‘घरसम्म पुगेका भए पनि त्यो जोखिम उच्च रहन्थ्यो ।

कचनकवल गाउँपालिका अध्यक्ष अन्जार आलमले संक्रमितहरू समुदायसम्म पुग्न नसकेका कारण जोखिम नरहेको बताए । उनका अनुसार लगालग संक्रमण पुष्टि भएपछि ५ दिनका लागि सिंगो गाउँपालिका सिल गरिएको छ । ‘सिंगो पालिका सुनसान छ, सर्वसाधारण सबै घरभित्रै छन्,’ आलमले भने । भारतबाट आउन चाहनेहरूलाई तत्काल प्रवेशमा कडाइ गरिएको उनले जानकारी दिए ।

आलमका अनुसार पालिकाले भारतबाट आएकाहरूलाई राख्न पथरिया मावि र लक्ष्मीप्रसाद देवकोटा माविमा दुइटा क्वारेन्टाइन बनाएको थियो । तर, संक्रमित थपिएसँगै दुईटा क्वारेन्टाइन थप गरिएको छ । जानकी आधारभूत विद्यालय र महेन्द्ररत्न माविलाई क्वारेन्टाइन बनाएर भारतबाट आएकालाई राखिएको छ । आलमका अनुसार क्वारेन्टाइनमा २ सय १२ जना छन् । ‘मापदण्डअनुसारै क्वारेन्टाइन बनाइएको छ’, उनले भने, ‘नियमित स्वास्थ्य परीक्षण आदि काम भइरहेको छ ।’ क्वारेन्टाइनमा राखिएका थप ६५ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?