काेराेना संक्रमितलाई २० घण्टापछि अस्पताल पुर्‍याइयो 

प्रदीप मेन्याङ्बो

सुनसरी — कोरोना संक्रमितलाई अस्पताल लैजान सुनसरीभरिका कुनै पनि एम्बुलेन्स तयार नभएपछि करिब २० घण्टासम्म घरैमा रहेकी धरानकी महिलालाई अन्तत अस्पताल पुर्‍याइएको छ । उनलाई नेपाल रेडक्रस सुनसरीको एम्बुलेन्सले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा पुर्‍याएको हो । 

काेराेना संक्रमितलाई २० घण्टापछि अस्पताल पुर्‍याइयो 

धरान–१३ शिवधारा बस्ने ती संक्रमितको प्रतिष्ठानस्थित माइक्रोबायोलोजी विभागमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

उपमहानगरपालिका, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुरक्षा संयन्त्र र जनप्रतिनिधिबीच दुई महिनाअघि बसेको बैठकले कोरोना रोकथाम, उपचार तथा संक्रमित व्यक्तिलाई उचित व्यवस्थापन गर्ने र त्यसका लागि चारवटा एम्बुलेन्स तैनाथ गरिएको बताइएको थियो । तर कोरोना भएकालाई अस्पतालसम्म लैजान कुनै पनिएम्बुलेन्स चालक तयार नभएपछि कोरोना रोकथाम र संक्रमितको उपचार व्यवस्थापनमा गम्भीर लापरबाही भएको धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले बताए । उनले जनस्तरबाट व्यापक दबाब र आक्रोश पोखेपछि मात्र रेडक्रसको एम्बुलेन्स संक्रमित बिरामी बोक्न तयार भएको बताए ।

वडाध्यक्ष काफ्लेले भने, ‘ती संक्रमित महिलालाई प्रतिष्ठानस्थित कोभिड–१९ अस्पतालको आइसोलेसन वार्डमा उपचारका लागि लैजान भनेर बुधबार राति ८ बजे एम्बुलेन्स आउने भनिएको थियो तर २० घण्टा बितिसक्दा पनि कुनै एम्बुलेन्स आएनन् । राति १२ बजेसम्म एम्बुलेन्स पर्खेर बस्यौं ।’

कोरोना संक्रमित बिरामीलाई अस्पताल पुर्‍याउन एम्बुलेन्सले ढिलाइ गरेकोमा काफ्लेले आक्रोशित हुँदै भने, ‘कोरोनाको यत्रो महामारीमा एउटा एम्बुलेन्स पनि व्यवस्था गर्न नसक्ने कस्तो व्यवस्था हो ? प्रदेश १ मै सबैभन्दा धेरै एम्बुलेन्स भएको सहर हो धरान । यहाँ चार दर्जन बढी एम्बुलेन्स सञ्चालनमा छन् । तर आवश्यक परेको बेला एउटै एम्बुलेन्स नपाउनु विडम्बना भएको छ ।’ उनले धरानजस्तो सुगम ठाउँमा यस्तो अवस्था भएको छ झन दुर्गम गाउँमा कस्तो अवस्था होला भनेर प्रश्न गरे ।

यसअघि, इटहरी–२ का संक्रमित युवालाई पनि कोरोना अस्पताल विराटनगर लैजान एम्बुलेन्स चालकहरु नमानेपछि बीपी प्रतिष्ठान आफैले व्यवस्था गरेर पठाएको थियो । धरानमा यसअघि रेडक्रसको एउटा एम्बुलेन्सले भने ३ जना संक्रमितलाई विराटनगर पुर्‍याएको थियो । उक्त एम्बुलेन्सका चालक हाल क्वारेन्टाइनमा छन् ।

प्रकाशित : जेष्ठ ८, २०७७ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?