कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जस्केलोबाट तीन दिनमा भित्रिए साढे ७ सय 

पर्वत पोर्तेल

काँकडभिट्टा — लामो समयदेखि भारतमा अलपत्र नेपालीहरुलाई जस्केलोबाट भित्र्याइएको छ । तीन दिनमा साढे ७ सय नेपाली भित्रिएको प्रहरी स्रोतले जनाएको छ । गत सोमबार साँझदेखि उनीहरुलाई फर्काउन थालिएको हो ।

जस्केलोबाट तीन दिनमा भित्रिए साढे ७ सय 

सोमबार साँझ २५ जनालाई ल्याइएको थियो । बुधबार एकै दिन साढे ५ सय भित्रिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । सीमावर्ती भारतको खोरीबारी प्रहरीसँगको सहकार्यमा उनीहरुलाई ल्याइएको हो ।

‘हामीलाई ल्याउने निर्देशन छैन, जस्केलोबाट लुकिछिपी आएकालाई पक्राउ गरिएको हो’, जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले भने,‘यसरी आउने क्रम जारी छ ।’

नेपाल प्रवेश गरेकाहरुलाई शरीरको तापक्रम नाप्नुका साथै आरडीटी परीक्षणसमेत गरिएको थियो । सबैलाई भद्रपुरको कलवलगुडीस्थित क्वारेन्टाइनमा राखिएको छ । केही नाकाकै नेपाली भू–भागमा छन् ।

प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बिहीबारदेखि भारतमा अलपत्रलाई वैधानिक ढंगबाटै प्रवेश दिइने जनाए । उनले भने, ‘अलपत्र नेपालीलाई ल्याउन संघीय सरकारले स्वीकृति प्रदान गरिसकेको छ, अब धमाधम भित्र्याइन्छ ।’

यता प्रहरी प्रमुख एसपी कोइरालाले नेपालीहरुलाई वैधानिक रुपमा प्रवेश गराउनका लागि केन्द्रबाट पत्र आइनसकेको दाबी गरे । उनले भने, ‘हामीलाई कुनै औपचारिक पत्र आएको छैन ।’

भारत पश्चिम बंगालको पानीट्यांकी, नक्सलबारी, वागडोगरा र सिलिगुडी आदि क्षेत्रमा करिब ३ हजार हाराहारीमा नेपाली अलपत्र रहेको बताइएको छ । ‘सबैलाई प्रवेश गराएर कलवलगुडीमा होल्डमा राख्ने, स्क्रिनिङ लगायतका स्वास्थ्य परीक्षण गरिने छ ।’ मन्त्री घिमिरेका अनुसार बाहिरी जिल्लाकालाई भने सम्बन्धित जिल्लाहरुमै पठाइने तयारी भइरहेको छ ।

पूर्वी नाकावाट ठूलो संख्यामा नेपाली भित्र्याउने तयारी भएपनि उनीहरुलाई राख्ने व्यवस्थित क्वारेन्टाइनको तयारी अझै भइसकेको छैन । पूर्वाधार आदि समस्याका कारण उनीहरुलाई ल्याइहाल्न समस्या भएको प्रहरी स्रोतको दाबी छ । सुटुक्क भित्र्याइएको हो । धेरै हल्ला भयो भने भीड लाग्ने छ र थेग्न गाह्रो पर्ने छ ।’

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला अनुगमन तथा व्यवस्थापन समितिका अनुसार झापामा १ हजार १ सय जना क्षमताको क्वारेन्टाइन मात्रै तयारी छ । समितिका संयोजक सोमनाथ पोर्तेलका अनुसार जिल्लाका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र लगायतका क्षेत्रमा बनाइएको क्वारेन्टाइनमा फर्काइएका नेपाली राखिने छ । केहीलाई सम्बन्धित जिल्ला समेत पठाइने छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?