१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

छिमेकी जिल्लामा संक्रमित बढेपछि भोजपुर प्रवेशमा कडाई

एलिसा श्रेष्ठ

भोजपुर — छिमेकी जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि भोजपुर प्रवेश र जिल्लाभित्र हिँड्‌डुलमा कडाई गरिएको छ । छिमेकी जिल्ला खोटाङ, उदयपुर र धनकुटामा संक्रमित बढेपछि जिल्ला प्रवेशमा कडाई गरिएको हो । यसअघि जिल्लाभित्र एम्बुलेन्स, सरकारी कामकाजका सवारी साधन र खाद्यान्‍न ढुवानीबाहेक सम्पूर्ण सवारी पासमा रोक लगाइएको थियो । 

छिमेकी जिल्लामा संक्रमित बढेपछि भोजपुर प्रवेशमा कडाई

प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले भोजपुरका सम्पूर्ण मुख्य सीमानाका र स्थानीय तहका नाकामा सुरक्षा स्थिति कडा पारिएको बताए । उनका अनुसार जोखिमलाई ध्यानमा राखेर भोजपुर सदरमुकाम प्रवेश गर्ने सम्पूर्ण सडकखण्ड र चोकमा ‘ढाट’ लगाइएको छ । सर्वसाधरणलाई पनि अत्यावश्यक कामबाहेकमा हिँड्डुल गर्न कडाई गरिएको छ ।

सर्वसाधारणलाई बिहान ५ देखि ८ बजे र बेलुकी ४ देखि ९ बजेसम्म बजारक्षेत्रभित्र आउजाउ गर्न खुकुलो पारिएको जिल्ला ट्राफिक प्रमुख प्रेम साहले जानकारी दिए । उनका अनुसार अति संवेदनशील काम र ठूला आयोजनाका ढुवानी सामानका लागि सवारी पास दिइएको छ ।

यस्तै जिल्ला प्रशासनले पनि लकडाउनको समयमा सवारी पासको दुरुपयोग गरी सवारी चलाउने चालकमाथि कडा निगरानी बढाएको छ । प्रशासनले अत्यावश्यक काम भन्दै सवारी पासको दुरुपयोग गरेको जनगुनासो बढेपछि छड्के अनुगमन थालेको प्रजिअ पुरीले बताए । दैनिक उपभोग्य वस्तुको ढुवानी, महत्वपूर्ण विकास निर्माण काम र बैंक, सरकारी काममा प्रयोग हुने सवारी साधनलाई मात्र पास अनुमति दिइएको उनले बताए । छड्के अनुगमनका क्रममा सवारी पासबिनै चलाइएको ३ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित : जेष्ठ ७, २०७७ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?