अस्पताल आउने सबै खाले बिरामीको पहिचान र ‘ट्राभल हिस्ट्री’ लिइने

विराटनगर — अस्पतालमा उपचारका लागि पुग्‍ने सबै बिरामीलाई आफ्नो स्पष्ट पहिचान र ‘ट्राभल हिस्ट्री’लिइने भएको छ ।

बिरामी र बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी दुवैको स्वास्थ्यलाई ध्यानमा राख्दै यस्तो व्यवस्था गर्न लागिएको चिकित्सकले बताएका छन् ।

नेपाल चिकित्सक संघ कोसी शाखाले संक्रमणको जोखिमयुक्त र संक्रमण भेटिएको निश्चित क्षेत्रबाट आएका बिरामीहरु को पीसीआर परीक्षण गरी त्यसैअनुसारको स्वास्थ्य सजगता अपनाउनुपर्ने भएकाले यस्तो व्यवस्था गर्न लागिएको शाखा अध्यक्ष डा. फरवार्ड सिलवालले बताए ।

विराटनगरबाट आएका बिरामीको हकमा संक्रमण फैलिएको निश्चित वार्डबाट आएका बिरामी को पीसीआर परीक्षण गर्ने र विराटनगरका अन्य वार्डवाट आएका बिरामीलाई उनीहरुको कन्ट्याक्ट र ट्राभल हिस्ट्री बुझेर पीसीआर परीक्षणपछि उपचार गरिने जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ का बिरामीहरुको उपचारमा प्रत्यक्ष रुपमा संलग्‍न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको व्यवस्थापनसम्बन्धी मार्ग निर्देशन, २०७७ सम्बन्धमा संघले ध्यानाकर्षण भएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कोभिड–१९ संक्रमित बिरामीहरुको उपचारमा प्रत्यक्ष रुपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ७ दिनसम्म उपचारमा संलग्न गराउने अनि त्यसपछि १५ दिन क्वारेन्टाइनमा र त्यसपछिको ७ दिन होम क्वारेन्टाइनमा राख्ने गरी व्यवस्था गर्न संघले माग गरेको छ ।

संघले देशमा संक्रमितको संख्या बढ्दै गरेको अवस्थामा संक्रमण भएर पनि कुनै गम्भीर लक्षण नदेखिएका बिरामीहरुको उपचारमा कम चिकित्सक र स्वास्थ्यकर्मीलाई खटाई भोलिका दिनमा आउने सक्ने जटिल अवस्थाका लागि अन्य स्वास्थ्यकर्मीहरु तयार राख्ने गरी व्यवस्था गर्न सरकारसित माग गरेको छ ।

सरकारी तथा निजी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको मापदण्ड बमोजिमका व्यक्तिगत सुरक्षाका सामग्री प्रदान गर्ने र पीसीआर परीक्षण गराउने गरी व्यवस्था गर्न संघले माग गरेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?