कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

संक्रमित बढ्ने क्रमसँगै सीमा वारिपारि उच्च सतर्कता

विराटनगर — सीमावर्ती सहर विराटनगरसहित मोरङमा तीनजनामा कोरोना संक्रमण पुष्टि भएपछि  नेपाल–भारत दुवैतिर सतर्कता बढाइएको छ ।

संक्रमित बढ्ने क्रमसँगै सीमा वारिपारि उच्च सतर्कता

आइतबार साँझ विराटनगरका दुईजनामा संक्रमण देखिएको थियो । तीमध्ये सीमानजिक रानी क्षेत्रका एकजना हुन् ।

एकजना माछा व्यापारी महिलामा पनि संक्रमण पुष्टि भएको छ । उनी केही दिनअघि भारत माइती गएर फर्केको जनाइएको छ । यसैगरी सोमबार मोरङको रतुवामाई नगरपालिकाका एक युवकमा संक्रमण पुष्टि भएको थियो । उनी भारतको मुम्बईबाट गत शनिबार आएका थिए ।

यसरी सीमावर्ती क्षेत्रमा संक्रमित देखिएको अनि उनीहरु नेपाल–भारत आउजाउ गरिरहेको पाइएपछि दुवैतिर सतर्कता बढाइएको हो । संक्रमित बस्‍ने विराटनगरका दुवै स्थान सिल गरिएको छ । त्यहाँ आउजाउ पूर्ण रुपमा बन्द गरिएको छ । संक्रमितहरुको परिवार र सम्पर्कमा आएकाहरुको खोजी गरी परीक्षणका लागि स्वाब नमुना संकलन गर्ने काम भइरहेको छ ।

प्रदेश १ का आधा जिल्लामा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण फैलिएको छ । प्रदेशका १४ मध्ये ७ वटा जिल्लामा संक्रमण पुष्टि भएको हो । वैशाख ५ गते उदयपुरमा पहिलोपटक संक्रमित भेटिएका थिए । एक महिनाको अवधिमा अरु ६ जिल्लामा संक्रमण देखिँदा संक्रमितको संख्या ५४ पुगेको छ ।

यसैगरी भारतको बिहारमा पर्ने जोगबनी क्षेत्रमा पनि सतर्कता बढाइएको छ । ‘दुवैतिरका वासिन्दाहरुलाई सुरक्षित राख्न जरुरी छ,’ जोगबनीका प्रहरी प्रमुख अफताब अहमदले फोनमा भने । उनका अनुसार बिहारको सात ठाउँमा कोभिड–१९ को परीक्षण भइरहेको छ ।

यता मोरङको प्रहरी–प्रशासनले टोलटोलमा माइकिङ गर्दै स्थानीयलाई घरबाट ननिस्कन आग्रह गरेको छ । सार्वजनिक थलोमा आवागमन कम देखिएको छ । अघिल्ला दिनमा केही चहलपहल हुने गरेको थियो । जोगबनी सीमावर हडताली हाट क्षेत्रमा पर्ने विराटनगर–१५ का ३६ वर्षीय पुरुष र विराटनगर–६ सरोचिया क्षेत्रकी २९ वर्षीया महिला संक्रमित देखिएपछि वारीपारी नै उच्च सतर्कताको अवस्थामा बस्नु परेको हो ।

‘नेपाल–भारत प्रहरीले सीमामा चुस्त निगरानी गरिरहेको हुनाले ती महिला कसरी विराटनगर पुगिन् भन्ने जाँच हुन जरुरी छ,’ जोगबनी प्रहरी प्रमुख अहमदले भने,‘नेपाली होस वा भारतीय कसैलाई यो रोग लाग्नु हुन्न, फैलियो भन्ने दुवै देशलाई नोक्सानी गर्छ ।’

विराटनगरमा प्रहरीले सोमबारदेखि नै औषधि, पानी र दूध पसलबाहेक सम्पूर्ण व्यापारिक गतिविधि बन्द गराएको छ । बिहानैदेखि चोकचोकमा बसेको प्रहरीले आवागमनमा कडाइ गरेको छ ।

सडकमा हुने बाक्लो आवागमनलाई नियन्त्रण गर्न प्रहरीले २५ वैशाखबाटै विराटनगरको मुख्य सडक खण्डहरुको पाँच ठाउँमा डाइभर्सन समेत राखेको छ । सफाइ कर्मचारी, तरकारी व्यवसायी, राहत एवं मास्क वितरणमा खटिने, प्रहरी र सेना पनि संक्रमित देखिएकाले यति बेला को बिरामी र को स्वस्थ ? भन्न सकिने अवस्था नरहेको सुरक्षाकर्मीले बताए ।

त्यही भएर प्रहरीले पनि सामाजिक (भौतिक) दुरी बनाएर जाँच गरिरहेको छ । ‘नागरिकसँगै आफ्नो पनि सुरक्षा गर्नुपरेको छ,’स्थानीय तीनपैनी चोकको चौबाटोमा खटिएका प्रहरी हवल्दार गणेश बस्नेतले भने । यो चोकमा चौविसै घण्टा एक महिलासहित तीन जनाको टोली तैनाथ छन् ।

अहिलेको अवस्थामा ट्रयाकिङ, ट्रेसिङ र परीक्षणको काम नसकिएसम्म पूर्ण लकडाउन जरुरी भएको प्रदेश १ सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा.सुरेशप्रसाद मेहताले बताए । सीमावर्ती राज्यहरुमा कोरोना संक्रमणको अवस्थाको अध्ययन गरी वारी आवश्यक सतर्कता अपनाइरहेको उनले बताए ।

एकजना पनि संक्रमित फेला नपरेकाले रानी सीमावर्ती पारी विहारको जोगवनीलाई भारत सरकारले ग्रिन जोनमा राखेको छ । तर जोगवनीसँग सोझो सम्पर्क भएको फारविसगञ्ज, किसनगञ्ज, बहादुरगञ्ज, कटिहार, मधेपुरा, सुपौल, पुर्णिया, सीतामढी, भागलपुर र पटनामा संक्रमित देखिने क्रम जारी रहेकाले विहारको प्रहरीप्रशासनले सबै सहरहरुमा लकडाउन कायमै राखेको छ ।

पारी भारतको बिहार, झारखण्ड, उत्तर प्रदेश र पश्चिम बंगालमा संक्रमण फैलिंदा वारी नेपालका बासिन्दामा चिन्ता छँदैछ । वारी विराटनगरमा संक्रमित देखिँदा जोगबनीका पनि तनावमा रहेको स्थानीय कपडा व्यवसायी सञ्जयकुमार अग्रवालले बताए । विहारको ३८ जिल्लाहरुमध्ये ३७ वटा कोभिड–१९ बाट प्रभावित छ ।

प्रकाशित : जेष्ठ ६, २०७७ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?