सीमापारिबाट लुकीछिपी आउने क्रम रोकिएन

निगरानीका लागि सुरक्षाकर्मी पर्याप्त नरहेको फाइदा उठाउँदै केही व्यक्तिले रकम लिएर चोरबाटो हुँदै एकअर्का देशका नागरिकलाई वारपार गराइरहेका छन् ।

विराटनगर — भारतमा रेल र बससेवा सञ्चालन हुन थालेपछि रोजगारी, शिक्षा र उपचारका लागि गएका नेपाली सीमामा आउन थालेका छन् । लकडाउनका कारण दुई देशबीच आउजाउमा प्रतिबन्ध लगाइए पनि लुकीछिपी आउने क्रम रोकिएको छैन ।

सीमापारिबाट लुकीछिपी आउने क्रम रोकिएन

मुख्य नाकाहरू सुनसान छन् तर आसपास र सीमावर्ती गाउँ हुँदै आउने क्रम जारी छ । सीमानजिकका केही व्यक्तिले पारि आएर बसिरहेकालाई रकम लिएर राति–राति प्रवेश गराएको पनि पाइएको छ ।

लकडाउनको अवधिमा यसरी आउनेको संख्या निकै रहेको सीमावर्ती बासिन्दाले बताएका छन् । तर त्यसरी आउनेको तथ्यांक कतै छैन । उनीहरूलाई व्यवस्थित रुपमा राख्ने प्रयास पनि पर्याप्त देखिँदैन ।

नेपाल प्रवेश गरेको जानकारी भए पनि सरकारी निकायबीच समन्वय छैन । यो अवस्थाले कोरोना संक्रमण विस्तार हुने जोखिम बढेको छ ।

आइतबार प्रदेश १ मा संक्रमण पु्ष्टि भएका तीनमध्ये दुई जना विराटनगरका छन् । एक जना सफाइकर्मी हुन् । संक्रमण पुष्टि भएकी महिला केही दिनअघि भारतस्थित माइती घर पुगेर फर्केको पाइएको छ । संक्रमित तेस्रो व्यक्ति धनकुटाकी स्वास्थ्यकर्मी हुन् ।

विराटनगर महानगरपालिका–१२ का विमल बस्नेत पारिबाट लुकेर नेपाल आउनेहरूमाथि सरकारी निकायको ध्यान जान नसकेको बताउँछन् । उनका अनुसार एक जनाबाट ५ हजारदेखि १० हजार भारतीय रुपैयाँसम्म लिएर सीमावारि ल्याउने गरेको समेत पाइएको छ ।

लकडाउनयता भारतका विभिन्न ठाउँबाट ४२ जना जोगबनी नाका हुँदै प्रवेश गरेको प्रहरीको तथ्यांक छ । तीमध्ये २७ जना चैत ११ गते आएका हुन् भने १५ जना वैशाख ३० मा ।

वैशाख ३० गते आएका सुनसरीका नौ, झापाका चार र मोरङका दुई जनालाई स्थानीय तहको जिम्मा लगाइएको प्रहरीको भनाइ छ । सीमावर्ती क्षेत्रका बासिन्दाले नेपाल प्रवेश गरेको संख्या अनुमान गरेभन्दा प्रहरीमा रहेको तथ्यांक निकै कम हो ।

मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारी सीमाक्षेत्रको ५–५ सय मिटरको फरकमा १ सय ७ स्थानमा टोली राखेर निगरानी भइरहेको बताउँछन् ।

मोरङको करिब ६२ किलोमिटर सीमा भारतसँग जोडिएको छ । निगरानी भइरहे पनि खुला सीमा भएकाले चुनौती रहेको अधिकारीले बताए । कतिपय स्थानमा दशगजा क्षेत्रमा पनि यति बेला मकैखेतीले ढाकिएको छ । कतिपय खेतैखेत भएर आउने गरेको पाइएको छ ।

प्रहरीले भारतबाट आएकालाई स्थानीय तहको जिम्मा लगाइएको बताए पनि स्थानीय तह भने अनभिज्ञ देखिन्छन् । विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले त्यसरी आएकाहरू कहाँ छन् भन्ने जानकारी नभएको बताए ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले पनि यसमा अनभिज्ञता दर्साए। सम्बन्धित क्षेत्रका बासिन्दाले भने त्यसरी आएकाहरू गाउँ–बस्ती डुलेको अनि आफन्तहरूसित भेटघाट गरिरहेको बताएका छन् ।

विराटनगर–१८ का श्रीप्रसाद यादव पारिबाट फाटफुट रुपमा मानिसहरू आइरहेको बताउँछन् । बिनारोकटोक आउने अनि स्वास्थ्य जाँच नगरी गाउँ–घर डुल्ने गरेकाले संक्रमणको डर भएको उनको भनाइ छ ।

वैशाख ३० गते भारतीय राजधानी दिल्लीबाट ११ दिन हिँडेर १५ युवक नाकामा आएका थिए । उनीहरूलाई भारतीय सीमा सुरक्षाबलका सुरक्षाकर्मीले मध्यराति नेपाल प्रवेश गराइदिएका थिए ।

यसै गरी नेपालबाट भारततिर रकम लिएर पठाएको समेत पाइएको छ । त्यसरी पठाउने दुई जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । उनीहरूले यताका उद्योगमा काम गरिरहेका भारतीय श्रमिकलाई रकम लिएर पठाएको पाइएको थियो ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले भारतले रेलसेवा सुरु गरेकाले निकै संख्यामा नेपाली आउन सक्ने अनुमान गरिएको बताए । प्रदेश १ मा भारतबाट १० हजारभन्दा बढी नेपाली आउन सक्ने भएकाले त्यसैअनुसार तयारी भइरहेको उनको भनाइ छ । सकेसम्म धेरै स्थानमा क्वारेन्टाइन बनाएर त्यसरी आएकाहरूलाई राख्ने व्यवस्था गर्नुपर्ने घिमिरेले बताए ।

म्यादी प्रहरी राखेर निगरानी गरिने

यसैबीच, सीमाक्षेत्रका सुरक्षाकर्मीलाई छलेर भारतबाट भित्रने क्रम बढेपछि सीमावर्ती स्थानीय तहले म्यादी प्रहरी नियुक्त गरी परिचालन गर्ने भएका छन् । मोरङका रंगेली, सुनवर्षी र रतुवामाई नगरपालिका प्रमुखसहित स्थानीय सुरक्षा निकायबीचको बैठकले यस्तो निर्णय गरेको हो ।

यी तीन नगरपालिकाको २७ किलोमिटर सीमा भारतसँग जोडिएको छ । त्यस क्षेत्रमा खटिएका सुरक्षाकर्मी अपर्याप्त भएपछि आन्तरिक स्रोतले तलब खुवाउने गरी ६९ जना म्यादी प्रहरी नियुक्त गर्ने निर्णय भएको रंगेलीका मेयर दिलीप बगडयाले बताए ।

तीनवटै नगरले २३–२३ जना पूर्वसुरक्षाकर्मीलाई कम्तीमा तीन महिना म्यादी प्रहरी नियुक्त गर्ने सहमति भएको नगरप्रमुखहरूले बताएका छन् । ‘प्रहरी जनशक्ति पर्याप्त नभएकाले चुनौती देखियो,’ रतुवामाई नगरप्रमुख रविन राईले भने, ‘त्यही भएर म्यादी प्रहरी राख्न लागेका हौं ।’

प्रदेश १ प्रहरी कार्यालय स्रोतका अनुसार प्रदेशभरका सीमाक्षेत्रमा ११ सयभन्दा बढी प्रहरी परिचालन गरी निगरानी भइरहेको छ । तर यो पर्याप्त नभएको स्रोतको भनाइ छ । मोरङ, सुनसरी र झापाका ‘चोर बाटो’बाट कतिपय मानिस भित्रिरहेको सूचना आएको उल्लेख गर्दै स्रोतले त्यस्ता क्षेत्रमा निगरानी बढाइएको जनाएको छ ।

प्रदेशभर साढे ७ हजार हाराहारी प्रहरी छन् । यसै गरी २ हजार ९ सय ४४ सशस्त्र प्रहरी सीमावर्ती क्षेत्रमा परिचालन गरिएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७७ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?