१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

दशगजामा दुवैतिरबाट खेती

‘खेतीमा आउन नपाएपछि सुरक्षा पोस्टमा आक्रमण बढ्यो’
पर्वत पोर्तेल

काँकडभिट्टा — गत वैशाख २२ मा झापा गाउँपालिका–४ स्थित सीमानजिकै सशस्त्र प्रहरीको सुरक्षा पोस्टमा भारतीयले आक्रमण गरे । घरेलु हतियारसहित डेढ सयभन्दा बढीको संख्यामा आएका उनीहरू प्रहरीले दुई राउन्ड हवाई फायर गरेपछि तितरबितर भए ।

दशगजामा दुवैतिरबाट खेती

शनिबार साँझ जिल्लाकै अर्को सीमावर्ती कचनकवल गाउँपालिका–१ को सुरक्षा पोस्टमा भारतीयले आक्रमण गरे । सुरक्षाकर्मी खाना खान गएको मौका छोपेर आएका उनीहरूले १२५/१० नम्बर सीमास्तम्भनजिकको सुरक्षा पोस्टलाई भत्काउन भ्याए । प्रहरी आएर एक राउन्ड हवाई फायर गरेपछि उनीहरू भागेका थिए ।

कोरोना संक्रमण रोक्न सरकारले भारतीय सीमावर्ती क्षेत्रमा राखेका अस्थायी सुरक्षा पोस्टमाथि शृंखलाबद्ध आक्रमण भइरहेको छ । यसको मुख्य कारण दशगजामा भएको खेती रहेको झापाका सुरक्षा अधिकारीले जनाएका छन् ।

सशस्त्र प्रहरी बल २ नम्बर गण हेटक्वार्टर झापाका प्रमुख एसपी रेशमकुमार थक्सुका अनुसार दक्षिणी झापाका अधिकांश भूभागमा नेपालीको पारि र भारतीयको वारि खेती छ । घेराबारी क्षेत्रको सयौं बिघामा भारतीयले मकै खेती गरेका छन् । नेपालीले पनि पारि सयौं बिघामा मकै खेती गरेका छन् । खेतीकै कारण यो हुलहुज्जत दोहोरिइरहेको उनको भनाइ छ ।

भारतीय र नेपाली जनप्रतिनिधिबीच दुवैतिर उत्पादित मकै दशगजामा राखिदिने र त्यहाँबाट सम्बन्धित धनीले लैजाने सहमति भएको थियो । तर, शनिबार साँझको घटनाअघि दिउँसो दुई भारतीय मकै उठाउन पाउनुपर्ने भन्दै नेपाली सुरक्षाकर्मीलाई आग्रह गर्न आएका थिए । फर्किएर जाँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उनीहरूलाई नेपाल जाने इजाजत कसले दियो भन्दै पक्राउ गर्‍यो । त्यस क्रममा उनीहरूलाई सामान्य कुटपिटसमेत भएको बताइएको छ । ‘एसएसबीले थर्काएको निहुँमा उनीहरूले नेपाली सुरक्षाकर्मीलाई हुलहुज्जत गर्ने प्रयत्न गरेको देखियो,’ एसपी थक्सुले भने ।

झापा गाउँपालिकामा भएको आक्रमणको कारक पनि दशगजाको खेती नै थियो । झापा–इलामको सीमावर्ती बाहुनडाँगीस्थित तिरिङमादेखि खजुरगाछीसम्मको करिब १ सय ४४ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा भारतीय र नेपाली दुवै पक्षले दशगजामा खेती गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय कानुनअनुसार सीमाक्षेत्रको करिब ३० फिट वारिपारि केही गर्न पाइँदैन । यहाँको दशगजामा भने दुवैतिरबाट बराबर जमिन भोग गरेको पाइएको छ । मेचीनगर, महेशपुर, घेराबारीलगायत क्षेत्रमा दुवैतर्फबाट दशगजामा खेती गरिएको पाइएको नापी विभाग स्रोतले जनाएको छ । ‘कतै नेपाल त कतै भारतले दशगजा अतिक्रमण गरेर खेती गरेको पाइन्छ’, सीमा व्यवस्थापनमा संलग्न नापी विभागका एक अधिकृतले कान्तिपुरसँग भने, ‘यसो गर्न कुनै हालतमा मिल्दैन ।’

प्रकाशित : जेष्ठ ५, २०७७ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?