कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चीनले दिने स्वास्थ्य सामग्री बुझ्न ताप्लेजुङका अधिकारीहरु हिँडे टिप्तालातिर

आनन्द गौतम

ताप्लेजुङ — चीनको तिब्बत स्वायत्त क्षेत्रले ताप्लेजुङ जिल्लालाई दिने स्वास्थ्य सामग्री बुझ्न यहाँको टोली सोमबार टिप्ताला भञ्ज्याङतिर लागेको छ । सहायक प्रमुख जिल्ला अधिकारी केशव खतिवडा, जिल्ला समन्वय समितिका अधिकृत गणेश अधिकारीको टोली त्यसतर्फ हिँडेको हो । 

चीनले दिने स्वास्थ्य सामग्री बुझ्न ताप्लेजुङका अधिकारीहरु हिँडे टिप्तालातिर

चीनले सामान बुझ्न द्विदेशीय सिमाना टिप्ताला भञ्ज्याङमा बोलाएको हो । पिपुल रिपब्लिक अफ चाइनाले दिने सामानमा ११ सय थान आरडिटी कीट, ११ सय थान पीपीई, एक सय थान थर्मल गन, १२ सय थान एन–९५ मास्क, एक लाख १० हजार थान सर्जिकल मास्क र सेनिटाइजर रहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । सामान बुझ्नका लागि जिल्लाका सरकारी अधिकारी आइदिन चीनले गरेको आग्रह अनुसार जिल्ला प्रशासन कार्यालयले सहायक प्रजिअ नेतृत्वको टोली खटाएको हो ।

सामानका लागि सहजीकरण गरेका फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङका अनुसार चीनले जेठ ८ गते (मे २१ तारेख) कादिन सिमानासम्म सामान ल्याइदिने जनाएको छ । सिमाना नजिकैको बस्ती रिउमा सामान तयार पारिएको छ । ओलाङचुङगोला निवासी छेतेनले सामानका लागि सहजीकरण गरिरहेका छन् ।

चीनले यसअघि पनि सिमावर्ती ओलाङचुङगोला र याङमाका बासिन्दाका लागि स्वास्थ्य र खाद्य सामग्री सहयोग गरेको थियो । सहयोग गरिएको ती सामानसमेत टिप्ताला भञ्ज्याङमै रहेको छ । हिउँका कारण सामान गोलासम्म ल्याउन नसकिएकाले खाद्य सामग्री सिमानामै रहेको छेतेनले बताए । स्वास्थ्य सामग्री भने गोलाले ल्याइसकेको छ ।

प्रशासन कार्यालयले सामान बोकाएर ल्याउने तयारी गरेको छ । हलुंगो हुने र तत्काल आवश्यक भएकाले आफूहरुले बोकेर, बोकाएर ल्याउने अधिकारीले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ५, २०७७ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?