२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भारतबाट लुकीछिपी भित्रन थालेपछि सीमामा म्यादी प्रहरी खटाइने

विनोद भण्डारी

विराटनगर — सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई छलेर भारतबाट मानिस भित्रिने क्रम बढेपछि सीमासँग जोडिएका मोरङका तीनवटा नगरपालिकाले म्यादी प्रहरी नियुक्त गरेर परिचालन गर्ने भएका छन् । 

भारतसँग सिमाना जोडिएका मोरङका रंगेली, सुनवर्षी र रतुवामाईका नगरप्रमुखसहित स्थानीय सुरक्षा निकायबीचको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । यी तीन नगरपालिकाको २७ किलोमिटर सीमा भारतसँग जोडिएको छ ।

त्यस क्षेत्रमा खटिएका सुरक्षाकर्मीले थप ६९ जना सुरक्षाकर्मी अपुग भएको औंल्याएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने सर्तमा ६९ जना म्यादी प्रहरी नियुक्त गरेर सीमाको निगरानीमा खटाउने निर्णय भएको रंगेली नगरप्रमुख दीलिप बगोडियाले बताए ।

'तीन नगरपालिकाले २३–२३ जना पूर्व सुरक्षाकर्मीलाई म्यादी प्रहरीका रुपमा नियुक्त गरेर कम्तीमा तीन महिना खटाउने सहमति भएको छ,' उनले भने । म्यादी प्रहरीसमेत खटिँदा प्रत्येक अढाई सय मिटरमा सुरक्षाकर्मीको उपस्थिति रहने उनको भनाइ छ ।

‘सीमाबाट दिनहुँ मानिस सुरक्षाकर्मीलाई झुक्याएर मोरङ छिर्ने गरेका छन्,’ राईले भने, ‘भारतको मुम्बईबाट भागेर आएका रतुवामाई–१ सोनापुरका २१ वर्षीय युवक शुक्रबार बिहान मात्रै सीमा क्षेत्रका सुरक्षाकर्मीलाई छलेर घर आइपुगे ।’ उनी शुक्रबार राति परिवारसँगै हेलमेल भई घरमै बसे । शनिबार उनलाई परिवारका सदस्यले नगरपालिकाको हेल्थ डेक्समा ल्याएर आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ ।

उनको पीसीआर परीक्षणका लागि स्वाबको नमुना कोसी अस्पताल पठाइने उनले बताए । भारतसँग मोरङको ६३ दशमलब २ किमि सिमाना जोडिएको छ । लकडाउन पहिला सीमा क्षेत्रका विभिन्न ६ स्थानमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा पोस्ट थिए । लकडाउनपछि ३६ वटा अस्थायी पोस्ट थपिएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७७ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?