१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गोदाममै सड्यो राहत सामग्री

सुनवर्षी नगरपालिकाका मेयरले कसैलाई जानकारी नदिई आफूखुसी राख्दा खाद्यान्न बिग्रिएको उपमेयर र वडाध्यक्षको आरोप
विनोद भण्डारी

विराटनगर — लकडाउनले बेखर्ची भएकाहरूले पर्याप्त राहत नपाएको गुनासो बढिरहँदा सुनवर्षी नगरपालिकाले जम्मा गरेको खाद्य सामग्री गोदाममै सडेको पाइएको छ । विभिन्न संघसंस्थाले उपलब्ध गराएको राहत कुहिएको हो ।

गोदाममै सड्यो राहत सामग्री

सुनवर्षी–९ भेडुवास्थित बीपी सेवा केन्द्रमा अहिले नगरपालिकाका कर्मचारी कुहिएको खाद्यान्न फ्याल्न र सुकाउनमा व्यस्त रहने गरेको स्थानीय बताउँछन् ।

‘हामीलाई बिहान–बेलुका खानै समस्या छ,’ छेउमै घर रहेका मेहताब आलमले भने, ‘तर, नगरपालिका विभिन्न संघसंस्थाले हाम्रा लागि दिएको राहत कुहाएर नष्ट गर्दै छ ।’ उनका अनुसार तीन दिनयता कुहिएको सामग्री रातिराति अन्यत्र लगेर फाल्ने गरिएको छ । अरूले थाहा पाउलान् भनेर भवनको गेटभित्र कसैलाई पनि पस्न दिइँदैन । केन्द्रमा चामल, आलु, प्याज, दाल, चिउरा, भुजालगायत सामग्री गोदाम गरिएको पाइएको छ ।

नगरले उक्त भवनमा राहत सामग्री गोदाम गरेको आफूलाई जानकारी नै नभएको वडाध्यक्ष कमल किशोरले बताए । ‘नगरप्रमुख कालीप्रसाद दासले त्यो भवनमा कहिले राहत सामग्री ल्याएर राखे मलाई थाहा छैन,’ उनले भने, ‘जब कुहिएर कामदारले फ्याल्न थाले अनि मात्र यसबारे थाहा भयो ।’ किशोरका अनुसार भवनमा राखिएको चामल, दाल, आलु र प्याज प्रायः कुहिएको छ । ‘ती सामान कुन–कुन संस्थाले दिएका हुन् र कति खाद्य सामग्री थियो, मेयरलाई नै थाहा होला,’ उनले भने ।

उपमेयर मञ्जु राईले उक्त भवनमा मेयर दासले कसैलाई जानकारी नगराई राहत सामग्री गोदाम गरेको बताइन् । उनका अनुसार मेयरले नगरका अरू काम पनि अरूलाई जानकारी नदिई आफ्नै इच्छाअनुसार गर्दै आएका छन् । ‘जनताले खान नपाएको समयमा गोदाममा राहत सामाग्री कुहाएर फ्याल्नु अक्षम्य अपराध हो,’ राईले भनिन् ।

यसअघि नगरका करिब ७ हजार परिवारलाई पहिलो चरणमा २०–२० केजी चामल र एक–एक केजी दाल, आलु, नुन र एक लिटर तेल दिइएको छ । थुप्रैले राहत नपाएको गुनासो गर्दै नगरपालिकाविरुद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिँदै आएका छन् । ‘मलाई नगरपालिका भवनमा राखिएको राहत सामग्रीबारे मात्र जानकारी छ,’ उपमेयर राईले भनिन्, ‘त्यहाँ चिउरा, भुजा, दाल, चामल लगायत खाद्यान्न करिब १५ क्विन्टल मौज्दत छ ।’

राहत वितरण गर्न नगरका ९ वटा वडालाई दुई–दुई लाख रुपैयाँ उपलब्ध गराइएको थियो । तर नगरपालिकाले राहत वितरणमा झन्डै दुई करोड खर्च भएको देखाएको छ ।

स्रोतका अनुसार राहतका नाममा लाखौं रुपैयाँ हिनामिना भएको छ । नगरप्रमुख दासले आफूनजिककालाई तीनपटकसम्म राहत दिएका छन् भने कसैले एकपटक पनि पाएका छैनन् । ‘विभिन्न संघसंस्थाले दिएको राहत सामग्री पनि अरू जनप्रतिनिधिलाई जानकारी नदिई कता लगे, कसैलाई थाहा छैन,’ स्रोतले भन्यो, ‘विकास–निर्माणका काममा पनि दासले एकलौटी योजना सञ्चालन गर्ने गरेका छन् ।’

मेयर दास भने यस विषयमा बुझ्न पटकपटक प्रयास गर्दा पनि सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित : जेष्ठ ३, २०७७ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?