वन पदाधिकारीकै संलग्नतामा सालका रुख काटिएको भन्दै उजुरी

कुम्भराज राई

ओखलढुंगा — ओखलढुंगालिखु गाउँपालिका-२ सिंहदेवीस्थित बाघखोर ठूलीवन सामुदायिक वनमा लकडाउनको मौका छोपी सालका रुख काटिएको छ । वन समूहको पदाधिकारीकै मिलेमतोमा १२ बोट सालको रुख अवैध रुपमा काटिएका हुन् । 

स्थानीयले वन समूहका सचिव रामकुमार बुढाथोकीको संलग्नतामा सालको रुख कटान र निकासी गरेको बताएका छन् । उपभोक्ताले सालको रुख काटिएको उजुरी डिभिजन वन कार्यालयमा दर्ता गरेका छन् । उजुरीमा वन समूहका सचिव बुढाथोकीको संलग्नता भएको उल्लेख छ । समूहको निर्णय र पुर्जीबिनै सचिवले काटेर चोरी निकासी गरेकाले उजुरी गरेको उजुरीकर्ता बलराम राउतले बताए । समूहका अध्यक्ष र वडाध्यक्षलाई जानकारी गराए पनि छानबिन नभएपछि डिभिजन वन कार्यालयमा उजुरी दर्ता गरेको राउतको भनाइ छ ।

वन समूहका अध्यक्ष विष्णु तिमिल्सिनाले सालको रुख काटिएको विषयमा उपभोक्ताले भनेपछि मात्रै थाहा पाएको बताए ।

‘वन नै सखाप हुनेगरी काठ काटिएको छ,’ स्थानीय उज्जन गोलेले भने, ‘निकासी गरेको स्थानीयले देखेका छन् ।’ सालका काठ काटेर निकासी गरेको विषयमा बुझ्दा समूहका सचिव बुढाथोकीले आरोपमात्रै लगाएको दाबी गरे । साल काट्न आफ्नो संलग्नता नरहेको र अवैध रुपमा सालका रुख काटिएका भए पनि ती रुख काम नलाग्ने रहेको उनको भनाइ छ । ‘तीन घर विश्वकर्माले मसँग रुख गोल बनाउन मागेका थिए, हुन्छ भनेको थिएँ, थाहै नपाई काटेछन्,’ बुढाथोकीले भने ।

डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले सामुदायिक वनको काठ चोरी निकासीको उजुरी दर्ता भएको बताए । 'प्राविधिक खटाएर अनुसन्धान गरी दोषीलाई कारबाही गर्छौं,' उनले भने ।


प्रकाशित : वैशाख ३०, २०७७ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?