ओलाङचुङगोलाका बासिन्दालाई चीनले पठायो राहत- प्रदेश १ - कान्तिपुर समाचार

ओलाङचुङगोलाका बासिन्दालाई चीनले पठायो राहत

डिजे काउन्टीले पठाएको खाद्य र स्वास्थ्य सामग्री टोलीले सीमासम्म ल्याइदिएको छ
आनन्द गौतम

ताप्लेजुङ — चीनले टिप्ताला भन्ज्याङ नाकाका सीमावर्ती बासिन्दालाई खाद्यसँगै स्वास्थ्य सामग्री सहयोग गरेको छ । चिनियाँ टोलीले सोमबार सीमामै आएर पीपीई, थर्मल गन, मास्कसँगै चामल, पिठोलगायत खाद्य सामग्री उपलब्ध गराएको हो ।

ओलाङचुङगोला र याङमाका बासिन्दालाई टाउको गनेर प्रतिबोराका दरले चामल र मैदाको पिठो आएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङले बताए । त्यस्तै घरधुरीका हिसाबले नुन, चिनी र दूध पाउडर पनि आएको छ ।

नेपालसँग जोडिएको डिङजे काउन्टीले उपलब्ध गराएको सामान चिनियाँ टोलीले टिप्ताला भन्ज्याङसम्म ल्याइदिएको छ । सामग्री बुझ्न वडाध्यक्ष र वडा सदस्यसहितको टोली सिमानासम्म पुगेको थियो ।

प्रवक्ता वालुङका अनुसार चीनले २ सय ५३ बोरा चामल र त्यत्तिकै परिमाणमा पिठो दिएको छ । प्रत्येक बोरा २५ किलोको छ ।


गोलामा ५३ र याङ्मामा १० घर छन् । प्रहरी चौकी, स्वास्थ्य चौकी र आधारभूत विद्यालयसमेतका लागि ६५ बोरा नुन–चीनी र ६५ कार्टुन दूध पाउडर र खाने तेल आएको छ । ‘उनीहरूले ट्यांकरमा ल्याएर सिमानामा जिम्मा लगाए,’ वालुङले भने, ‘सिमानादेखि ओलाङचुङ र याङमाका बासिन्दाले आफैंले बोकेर ल्याउनुपर्छ ।’ त्यहाँबाट गाउँसम्म आउने सडक हिउँले अवरुद्ध भएकाले प्रत्येक घरधुरी आफैंले गएर ल्याउने कि के गर्ने भन्ने छलफल भइरहेको उनले बताए ।


स्वास्थ्य सामग्रीअन्तर्गत १० थान पीपीई, ५ थान थर्मल गन र २ सय ५३ थान एन–१९ मास्क रहेको वडाध्यक्ष छेतेन शेर्पा भोटेले बताए । स्वास्थ्य सामग्री गाउँपालिकाको कार्यालयमा ल्याइने वालुङले जानकारी दिए ।

प्रत्येक वर्ष हिउँ बिलाएपछि सीमावर्ती बासिन्दा खाद्य सामग्री खरिद गर्न चिनियाँ बजार जान्छन् । कोरोनाका कारण सिमाना बन्द भएकाले अहिले नियमित आउजाउ छैन । त्यसैले पनि चिनियाँले सहयोग गरेको वालुङले बताए । सिमानादेखि गोलाको बस्तीसम्मको दुरी २४ किलोमिटर छ । याङमा गोलाभन्दा टाढा छ । ‘यो खाद्यान्नले पुग्दैन,’ वडाध्यक्ष शेर्पाले भने, ‘अब सिमाना खुलाउन अनुरोध गरेर फेरि वर्षदिनका लागि खाद्यान्न ढुवानी गर्नुपर्छ ।’

प्रकाशित : वैशाख २९, २०७७ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्

कपिलवस्तुका १५ जना संक्रमित नै भारतबाट फर्किएका

९९ जनाको स्बाव परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि
मनोज पौडेल

कपिलवस्तु — सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका कपिलवस्तुका १० जनामध्ये ८ जना एउटै वडाका रहेको खुलेको छ । सोमबार संक्रमण पुष्टि भएका ८ जना यशोधरा गाउँपालिका वडा नम्बर ५ का रहेका छन् । २० देखि ३४ वर्ष उमेर समूहका उनीहरु अनिरुद्ध पब्लिक माविको क्वारेन्टाइनमा बसेका थिए ।

त्यस्तै बुद्धभूमि नगरपालिकाका २ जना युवकमा पनि सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । बुद्धभूमि नगरपालिका–७, मानपुरका ३४ वर्षीय युवक र वडा नम्बर १०, धनकौलीका १९ वर्षीय किशोरमा पनि कोरोना भाइरसको संक्रमण देखिको हो । उनीहरु गोरुसिंगेस्थित गौतम बुद्ध माविको क्वारेन्टाइनमा बसेका थिए ।

संक्रमित दशै जना भारतका विभिन्न ठाउँबाट घर फर्केका हुन् । उनीहरु रोजगारीका लागि भारत गएका थिए । यसअघि भारतबाटै फर्किएका मायादेवी गाउँपालिकाका ४ जना र शुद्धोधन गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शनिबार संकलन गरिएकामध्ये ९९ जनाको स्वाब परीक्षण गर्दा १० जना संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले बताए । अझै १ सय ९१ जनाको रिपोर्ट आउन बाँकी छ ।

कपिलवस्तुमा एकैदिन १० जनामा कोरोना संक्रमण, स‌ंक्रमितको संख्या १२० पुग्‍यो

जिल्लाको यशोधरा गाउँपालिका र कपिलवस्तु तथा बुद्धभूमि नगरपालिकाका क्वारेन्टाइनमा बसेका २ सय ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ र ट्राभल हिस्ट्री लिएर सतर्कता अपनाउन थालिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । जिल्लामा संक्रमितको संख्या १५ पुगेको छ ।

प्रकाशित : वैशाख २९, २०७७ ११:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×