कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वनक्षेत्रमा सडक खनिएपछि एक्स्काभेटर नियन्त्रणमा

डिल्लीराम खतिवडा

उदयपुर — लकडाउनमा नाला सफा गर्ने बहानामा कटारी नगरपालिका–४ को मरुवा हरित सामुदायिक वन क्षेत्रमा सडक खन्दै गरेको एक्स्काभेटर वन कार्यालयले नियन्त्रणमा लिएको छ । अवैध रूपमा सडक खनिरहेको ना१क ५४७३ नम्बरको एक्स्काभेटर शनिबार बेलुकी नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय त्रिवेणीका प्रमुख वन अधिकृत उपेन्द्रप्रसाद पटेलले बताए ।

वनक्षेत्रमा सडक खनिएपछि एक्स्काभेटर नियन्त्रणमा

‘गस्ती टोली देखेपछि अपरेटर फरार भए,’ उनले भने, ‘जेसीबी ल्याउने क्रममा वनरक्षक गोकर्ण थापा घाइते भएका छन् ।’ एक्स्काभेटरको ढोका ठोक्किएर थापाको टाउकोमा चोट लागेको छ । कार्यालय र उपभोक्ता समूहको संयुक्त टोली गस्ती खटिएको थियो । पहिलेको सडक अहिले नाला बनाउने बहानामा स्तरोन्नति गर्न खोजिएको हो । त्यस क्रममा १४ वटा सालका रूख ढल्ने अवस्थामा पुगेको समूहका अध्यक्ष विष्णु राई दनुवारले बताए । उनका अनुसार १० दिनयता वनक्षेत्रमा एक्स्काभेटर चलाइएको भेटिएको छ ।

यसअघि पनि सोही क्षेत्रमा अवैध रूपमा सडक खनिएको थियो । अध्यक्ष दनुवारका अनुसार सिराहाको मिर्चैयामा रहेको सौर्य सिमेन्ट उद्योगका लागि चुनढुंगा ढुवानी गर्ने सिद्धिचरण मल्टिप्रपोज कम्पनीले सडक खन्न लगाएको हो । ‘वन कार्यालयमा पटकपटक लिखित तथा मौखिक उजुरीसमेत दिइएको थियो,’ उनले भने, ‘तर अवैध रूपमा सडक खन्ने काम रोकिएन ।’

वन अधिकृत पटेलले भने अवैध रूपमा सडक खन्न लगाउनेको खोजी भइरहेको बताए । ‘अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘अनुसन्धानपछि कारबाही प्रक्रिया बढ्नेछ ।’ उक्त एक्स्काभेटर सिद्धिचरण मल्टिप्रपोज कम्पनीले नै प्रयोग गर्दै आइरहेको छ । यसअघि पनि सोही एक्स्काभेटरले पानीटयांकीदेखि सिद्धिचरण राजमार्ग जोडने गरी वनक्षेत्र मासेर सडक खनिएको थियो ।

प्रकाशित : वैशाख २८, २०७७ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?