२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

संक्रमण देखिएका ६ भारतीयको पछिल्लो रिपोर्ट नेगेटिभ, बुधबार डिस्चार्ज हुने

मोरङ — वैशाख ५ गते संक्रमण पुष्टि भएका ६ जना भारतीयको स्वाब नमुनाको पछिल्लो परीक्षणको रिपोर्ट ‘नेगेटिभ’आएको छ । उनीहरुमा संक्रमण नदेखिएपछि कोसी अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ । 

संक्रमण देखिएका ६ भारतीयको पछिल्लो रिपोर्ट नेगेटिभ, बुधबार डिस्चार्ज हुने

विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रको आइसोलेसनमा १९ दिनदेखि बस्दै आएका उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ती ६ जना भारतीयलाई बुधबार डिस्चार्ज गरी क्वारेन्टाइनमा राखिने भएको छ ।

संक्रमण पुष्टि भएका अरु ७ जनाको परीक्षण रिपोर्ट भने ‘पोजिटिभ’देखिएको छ । यसअघि संक्रमण पुष्टि भएकाहरुको विराटनगरस्थित कोसी अस्पतालको पीसीआर ल्याबमा शुक्रबारदेखि लगातार स्वाब नमुना परीक्षण गरिँदै आएको थियो । शुक्रबारयताको तेस्रोपटकको परीक्षणमा मंगलबार उनीहरुमा संक्रमण नदेखिएपछि डिस्चार्ज गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सबभन्दा पहिले संक्रमण पुष्टि भएका १३ जनाको लगातार तीनपटक थ्रोट स्वाब परीक्षण गर्दा ६ जनामा संक्रमण नदेखिएको पुष्टि भएको बताए । अन्य ७ जनामा भने तीनै पटकको परीक्षणमा संक्रमण देखिएको चिकित्सकको रिपोर्ट आएको उनले बताए । उनीहरुलाई भने आइसोलेसनमा राखेर हेरचाह गरिने छ ।

कोभिड–१९ उपचार केन्द्रमा रहेका भुल्केका अन्य १५ जनाको पनि सोमबार परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । उनीहरुको प्रयोगशाला रिपोर्ट आउन बाँकी छ । कोसी अस्पतालकी मेडिकल सुपरिडेण्टेण्ट डा. संगीता मिश्रले उपचार केन्द्रमा राखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन् ।

संक्रमितहरुको सम्पर्कमा आएका भुल्के बस्तीका थप १६ जनामा पनि संक्रमण पुष्टि भएको थियो । ती सबैलाई केन्द्रमा राखेर हेरचाह गरिँदै आएको छ । प्रदेश १ मा भोजपुरको हतुवागढीका १ र झापाको बाह्रदशी र दमकका गरी २ जनामा संक्रमण पुष्टि भएपछि उक्त केन्द्रमा राखिएको छ ।

८ हजार ३५ जनाको नमुना परीक्षण

प्रदेश १ मा मंगलबार साँझसम्म आरडीटी र ल्याबमा गरिने परीक्षण पीसीआर विधिबाट ८ हजार ३५ जनामा नमूना परीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राखिएको कोरोचा सूचना डेस्कका अनुसार आरडीटी विधिबाट ६ हजार ३ सय २८ जनाको नमूना परीक्षण गरिएको छ । पीसीआरबाट १ हजार ७ सय ७ जनाको नमूना परीक्षण गरिएको उक्त कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या १ हजार ७ सय ७३ छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ४७ जना बसिहेका छन् ।

प्रकाशित : वैशाख २३, २०७७ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?