कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

धनकुटाका सम्पूर्ण नाका सिल

सीमावर्ती जिल्लामा संक्रमण देखिइसके भन्दै प्रशासन कार्यालयले उच्च सतर्कतामा अपनाएको जनाएको छ।
रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको सम्पूर्ण नाकामा पैदल यात्रुलाई समेत आवतजावतमा रोक लगाइएको छ । सीमावर्ती भोजपुर र उदयपुरमा कोभिड १९ संक्रमित फेला परेपछि जिल्लाका सम्पूर्ण नाका बन्द गरी नियमित अनुगमन तीव्र पारिएको प्रशासनले जनाएको छ । अत्यावश्यक कामको ठहर गरेबाहेक कसैलाई पनि जिल्ला भित्रिन र बाहिरिन कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिए ।

धनकुटाका सम्पूर्ण नाका सिल

सीमावर्ती जिल्लामा संक्रमण देखिइसकेकाले अब उच्च सतर्कतामा राखेर कडाइ गरिनुबाहेक अन्य विकल्प नभएको प्रमुख जिल्ला अधिकारी केवशप्रसाद विमलीले बताए । धनकुटाको पश्चिमी क्षेत्रमा भोजपुर र दक्षिणी क्षेत्रमा उदयपुर जिल्लाको सिमाना जोडिएको छ ।

जिल्लामा हालसम्म २८ जनालाई क्वारेन्टाइनमा राखिएको प्रशासनले जनाएको छ । काठमाडौं, हेटौडा लगायतका ठाउँबाट जिल्ला फर्किएकालाई क्वारेन्टाइनमा राखिएको हो। चौबिसे गाउँपालिकामा ९२ जना फर्किएका भए पनि २७ जना शंकास्पद रहेकाले क्वारेन्टाइनमा राखिएको पालिका अध्यक्ष खजिन्द्र राईले जानकारी दिए । क्वारेन्टाइनमा राखिएकालाई स्थानीय स्वास्थ्यकर्मी र प्रहरीले निगरानी गर्दै आएका छन् । अन्य जिल्लाबाट आएका अन्य ६४ जना होम क्वारेन्टाइनमा छन् ।

जिल्लामा हालसम्म १ सय ५९ जनाको र्‍यापिड डाइनोस्टिक टेस्ट गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ७ जनाको स्वाब परीक्षण गरिएको छ । परीक्षण गरिएको सबैलाई होम क्वारेन्टाइनमा राखिएको कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए । र्‍यापिड टेस्ट गरिएकामा धनकुटा नगरपालिकाका २०, पाख्रिबास नगरपालिकाका १९, महालक्ष्मी नगरपालिकाका २१ छन् । त्यस्तै छथर जोरपाटी गाउँपालिकाका १३, सहिदभूमि गाउँपालिकाका २९, सागुरीगढी गाउँपालिकाका २८ र चौबिसे गाउँपालिकाका २९ जना छन् ।

धनकुटामा ३ सय ५७ थान पीपीई, ५६ थान थर्मल गन, १ सय ५९ बेडको क्वारेन्टाइन र १५ एम्बुलेन्स तयारी अवस्थामा राखिएको सूचना अधिकारी श्रेष्ठले बताए । जिल्ला सदरमुकाम नजिकको आत्मारामा व्यवस्थापन गरिएको आइसोलसनमा भने कुनै व्यक्ति राखिएको छैन ।

प्रकाशित : वैशाख २३, २०७७ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?