कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

संकटमा अघि बढेका यी सहयोगी हातहरु

लडकाउनले मोरङको दक्षिणी भूभाग र उत्तरी पहाडी भेकमा औषधिको अभाव छ । यस्तो अवस्थामा स्थानीय सरकार होइन सहयोगी हातहरु नै अघि सरिरहेका छन् ।
जितेन्द्र साह

विराटनगर — अधिकांशले यतिखेर स्थानीय निकाय, प्रदेश सरकार र संघीय सरकारको सुस्तताप्रति असन्तुष्टि पोखिरहेका छन् । तर केही यस्ता नागरिक पनि छन्, जो गुनासो होइन, चुपचाप सहयोग र सेवा गरिरहेका छन् । 

संकटमा अघि बढेका यी सहयोगी हातहरु

विराटनगरको अस्पताल चोकमा औषधि पसल सञ्चाल गरिरहेका अरुणकुमार ठाकुर (बबलु) ले लकडाउनमा बिरामीका ३ सय कुरुवालाई भोजन खुवाए । उनीहरु चोक वरिपरिका अस्पतालमा बसिरहेका थिए । ठाकुरलाई यो कार्यमा ट्राफिक प्रहरीमा जागिरे पत्नी मिरा खत्रीले साथ दिइन् ।

लकडाउनपछि वरिपरिका सबै होटेल बन्द भएकाले बिरामी र उनीहरुको कुरुवालाई खानपिनको समस्या भइरहेको थियो । ‘औषधि लिन आउँदा पनि भोकै भएको कुरुवाहरुले सुनाउँथे, त्यही भएर एक छाक भए पनि उनीहरुलाई आफ्नो तर्फबाट खुवाऊँ भन्ने लाग्यो,’ ठाकुरले भने ।

लामो समयसम्म बिरामीलाई अस्पतालमा राख्नुपर्ने परिवारलाई निकै समस्या भएको स्थानीय सुरेश मण्डल बताउँछन् । ‘कोही पनि भोको रहेको सूचना आउनबित्तकै भोजनको बन्दोबस्ती गर्छौं,’ उनले भने ।


घर, पसल र मठमन्दिर बन्द भएकाले लकडाउनमा सर्वसाधारणलाई मात्र नभएर पशुपक्षीलाई पनि गाँसको समस्या छ । विराटनगर मेनरोडका मारवाडी समुदायका गृहिणीहरुले पशुपक्षीलाई पानी र दाना खुवाइरहेका छन् । ‘हाम्रो कुनै एनजीओ छैन, आपसमा सहयोग संकलन गरि यो कार्यमा लागेका छौं,’ गृहिणी मनिषा अग्रवालले भनिन् । उनीहरुले भोका पशुपक्षीलाई खुवाउने अभियान सञ्चालन गरेको दुई महिना भइसक्यो । अहिले भने यसको आवश्यकता बढी भएकोले सक्रिय भएर लागेको उनले बताइन् । ‘लकडाउन नहुँदा पसल खुला हुन्थ्यो, व्यापारीहरुले पनि पशुलाई रोटी र पानी खुवाउँथे, अहिले घरपसलको ढोका बन्द छ,’ अग्रवालले भनिन्, ‘अहिले गृहिणी र हाम्रा बच्चाहरुले पशुपक्षीलाई खुवाइरहेका छौं ।' पशुचिकित्सकसँगको सल्लाहअनुरुप दानापानी खुवाइरहेको उनको भनाइ छ ।

संकटमा मौकाको फाइदा उठाएर कालोबजारी गर्ने र अनेक खाले समस्या देखाएर बहालमा बस्नेलाई दुःख दिनेको पनि कमी छैन । तर, यहाँ केही मनकारी घरबेटी पनि छन्, जसले बहालमा बस्नेलाई परिवारकै सदस्यसरह व्यवहार गरिरहेका छन् । ‘घरबेटी बाआमाले बहालको चिन्ता नगर्न र दुई/तीन महिनापछि दिँदा पनि हुने भनेका छन्,' मेडिकलका छात्र रितेश महतोले भने । उनी विराटनगर–७, स्थित मधुमाराको एक घरमा बस्छन् ।

लकडाउनले उत्पादन नबिकेर आफै संकटमा भए पनि तरकारी किसानले समेत सेवा गर्दै छन् । ‘घरमा खानलाई तरकारी छैन भन्दै आउनेलाई दिन्छौं, कोठाबाट बाहिर निस्कन नसक्ने ज्येष्ठ नागरिक, अशक्त र बिरामीलाई घरसम्मै पनि पुर्‍याइदिएका छौं,’ किसान शंकर चौधरीले भने । मोरङको धनपालथान–६ स्थित उनको अर्गानिक कृषि फार्ममा गोलभेँडा, काउली, भिन्डी र लौकालगायत उपत्पादन हुन्छ ।

विराटनगर नजिकैको सीमावर्ती मोरङको जहदा गाउँपालिका–४ का सामाजिक अभियन्ता शंकर गामीले आफ्नै खर्चमा लकडाउन अगाडिबाट कोरोना भाइरस संक्रमणबाट स्थानीयलाई जोगाउन गाउँभरि सचेतना गरिरहेका छन् । आफ्नै खर्चमा विपन्न समुदायलाई २ सय ५० वटा मास्क पनि बाँडे । ‘गाउँका कसैमा उच्च ज्वरो र रुघा देखिएमा तुरुन्तै अस्पताल पुर्‍याउने प्रबन्ध मिलाउँछु,’ उनले भने, ‘अहिलेसम्म हाम्रो गाउँका कसैलाई पनि कोरोना पोजिटिभ देखिएको छैन ।’

लडकाउनले मोरङको दक्षिणी भूभाग र उत्तरी पहाडी भेकमा औषधिको अभाव छ । यस्तोमा संघीय, प्रदेश र स्थानीय सरकारको भन्दा सहयोगी हातहरु नै अघि सरिरहेका छन् । नियमित औषधि सेवन गर्नेलाई सकिएर समस्या भएको खबर पाएमा मोरङको रतुवामाई नगरपालिका–९, इटहराका दुर्गा डेरी र अन्यले दिनहुँ गुड्ने आफ्ना वाहनमार्फत औषधि पुर्‍याइरहेका छन् । ‘फेसबुकमार्फत सम्पर्क नम्बर उपलब्ध गराएर औषधि सकिएर कठिनाइ भएकालाई निःस्वार्थ सहयोग गरिरहेका छौं,’ डेरीका सञ्चालक डिल्लीराम बरालले भने ।

प्रकाशित : वैशाख २२, २०७७ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?