उर्लाबारीमा दादुरा फैलियो

देवनारायण साह

मोरङ — कोरोना भाइरसको महामारी फैलिएकै बेला उर्लाबारी नगरपालिका-३ मा दादुरा फैलिएको छ । स्थानीय ९ परिवारका ८ जनामा दादुरा संक्रमण पुष्टि भएको हो ।

विश्व स्वास्थ्य संगठनको फिल्ड अधिकृत डा. सरु देवकोटाको नेतृत्वमा प्रदेश १ का सामाजिक विकास मन्त्रालयका स्वास्थ्यकर्मीहरुको टोली ९ जनाको रगतको नमुना शुक्रबार संकलन गरेर लगेको थियो । उनीहरुमध्ये ८ जनामा दादुरा संक्रमणको पुष्टी भएको हो ।

रगत परीक्षणमा दादुरा पुष्टि भएको प्रतिवेदन विश्व स्वास्थ्य संगठनले आइतबार पठाएको उर्लाबारी नगरपालिकाका स्वास्थ्य संयोजक तोयानाथ घिमिरेले बताए ।

‘सात वर्षदेखि २५ वर्ष उमेरका सातै जनामा दादुरा पुष्टि भएकाले उच्च सतर्कता अपनाएका छौं,’ उनले भने, ‘दादुराको संक्रमण देखिएका आठै जनालाई हालसम्ममा दुई पटक भिटामिन ए खुवाइसकेका छौं ।’ उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख र सामान्य रहेको घिमिरेले बताए ।

‘आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनीहरुकै घरमा प्रत्यक्ष निगरानीमा राखिएको छ,’ उनले भने, ‘सरकारले सञ्चालन गर्दै आएको दादुराको खोप हालसम्म उनीहरुले लगाएका छैनन् ।’

स्वास्थ्य कार्यालय मोरङका खोप अधिकृत रामनन्दन यादवले कुनैपनि ठाउँमा एक महिनामा ५ वटा रोगका बिरामी फेला परेपछि महामारी भएको मापदण्ड अनुसार यहाँ एकै पटक सात जनामा दादुरा फेला परेकाले महामारी फैलिएको बताए । अर्का एकजना संक्रमित वडा नम्बर १ का हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले दादुरा सरुवा रोग भएको र समयमा उपचार नगरिए बिरामीको ज्यान जान सक्ने भएकाले अनुगमन गरेर उच्च सतर्कता अपनाइएको बताए ।

‘दादुरा फैलिएकाले अब कसरी अघि बढ्ने बारे प्रदेश र संघीय सरकारलाई जानकारी गराईसकेका छौं,’ उनले भने, ‘उर्लाबारीमा अन्य परिवार र व्यक्तिमा दादुरा सर्न नदिनका लागि आवश्यक सावधानीका उपाय अपनाइएको छ ।’

दादुरा उन्मुलनका लागि सरकारले मोरङमा हालै नवौं पटक खोप अभियान सञ्चालन गरेको थियो ।

प्रकाशित : वैशाख २१, २०७७ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?