ज्वरोका बिरामी भर्ना लिन नमानेपछि...

देवनारायण साह

मोरङ — सुनसरीको देवानगञ्ज गाउँपालिका १ का २७ बर्षीय रवीन्द्र यादव कोसी अस्पतालको आकस्मिक कक्ष अगाडि उपचारको अभावमा छट्पटाइरहेका छन् । उनको शरीरको तापक्रम एक सय एक डिग्रीभन्दा बढी भएकाले ज्वरोको बिरामी भन्दै विराटनगरका कुनै पनि अस्पतालले भर्ना गरेर उपचार गर्न मानेका छैनन् । 

आइतबार दिउँसो बिष सेवन गरेर कोसी अस्पताल भर्ना भएका रवीन्द्रलाई बुधबार साँझ सघन उपचार कक्ष र भेन्टिलेटरमा राख्नु पर्ने भएको भन्दै कोसीले अन्यत्र रेफर गरिदिएको छ । कोसी अस्पतालका चिकित्सक डा. लक्ष्मीनारायण यादवले बिरामीको मृगौलामा समस्या देखिएकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्न आवश्यक भएको र कोसीमा भेन्टिलेटर नभएकाले रेफर गरिदिएको बताए ।

कोसीले रेफर गरेपछि उनलाई विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो । नोबेलमा एक सय एक डिग्री ज्वरो आएकै कारण भर्ना गर्न नमानेको बिरामीका बुवा जोगिलाल यादवले बताए । ‘नोबेलले भर्ना नलिएपछि फर्काएर कोसी अस्पताल ल्याएको । राति ११ बजेसम्म इमर्जेन्सी अगाडी बस्दा पनि भर्ना लिन मानेनन्,’ उनले भने, ‘कोसी अस्पतालका डाक्टर/नर्सले यहाँ राखे बिरामीको मृत्यु हुन्छ भने, भर्ना गर्न मानेनन् ।’

केही सीप नलागेपछि उनलाई घरै लान बाध्य भएको यादवले बताए । ‘चार दिन कोसी अस्पतालमा उपचार गर्दा एक लाख रुपैयाँ सकिइसकेको थियो,’ उनले भने, ‘घरमा लगेपछि समाजका माानिसहरुले पैसा जम्मा गरिदिएर उपचारका लागि अस्पताल लग्न सघाए ।’

रवीन्द्रलाई बिहीबार बिहान विराटनगरस्थित ग्रिनक्रस हस्पिटल ल्याइएको तर यहाँ पनि भर्ना लिन नमानेको यादवले बताए । ‘त्यसपछि गोल्डेन अस्पताल लग्यौं तर त्यहाँ पनि भर्ना लिन मानेनन्,’ उनले भने, ‘विराटनगरका कुनै पनि अस्पतालले भर्ना लिन मानेनन् ।’

विराटनगरमा भर्ना गर्न नसकेपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाानमा लैजाने योजना बन्यो । ‘बीपीको प्रशासनसँग सम्म्पर्क गर्‍यौं तर त्यहाँ पनि ज्वरो आएका बिरामीलाई भर्ना नलिने बताए,’ यादवले भने ।

रवीन्द्रको शरीरको तापक्रम एक सय एक डिग्रीभन्दा बढी भएकोले कुनै पनि अस्पतालले भर्ना लिन नमानेको यादवले गुनासो पोखे ।

कुनै अस्पतालले भर्ना लिन नमानेपछि रवीन्द्रलाई कोसी अस्पतालको आकस्मिक कक्ष अघिल्तिर एम्बुलेन्समै राखिएको छ ।

‘साथमा पैसा छ, उपचार हुने ठाउँसम्म लग्ने साधन छ, उपचार गरिदिने चिकित्सक पनि छ तर उच्च ज्वरोले एम्बुलेन्समै छोराको ज्याान जालाजस्तो भयो,’ उनले भक्कानिँदै भने, ‘डाक्टर र अस्पताल प्रशासनले अनेक बहाना बनाएर कुदाउने काम मात्रै गरे । डाक्टरलाई भगवानको दोस्रो रुपमा भन्छन् तर उनीहरुले नै विभेद गरेपछि कसको के लाग्छ ?’

सुनसरी प्रहरीको संयोजनमा अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले भर्ना लिने बताएपछि एम्बुलेन्समा अहिले यादवलाई उतै पठाइएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले कुनै पनि अस्पतालले बिरामीको भर्ना नलिएको जानकारी आए तत्काल कारबाही गरिने बताए ।

प्रकाशित : वैशाख १८, २०७७ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?