भोजपुरका कोरोना संक्रमित व्यक्ति अझै गाउँमै

एलिसा श्रेष्ठ

भोजपुर — बिहीबार नै कोरोना पुष्टि भएका हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवालाई अझै अस्पताल लगिएको छैन । संक्रमित युवालाई उपचारार्थ विराटनगरको कोरोना विशेष अस्पतालको ओइसोलेसनमा लैजाने बताइएको छ । 

उनलाई विराटनगर लैजाने तयारी भए पनि उनको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन गरेर सँगै पठाउने भएकाले ढिलो भएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले जानकारी दिएका छन् । संकलित स्वाबसहित उनलाई शुक्रबार राति अस्पताल लगिने गाउँपालिकाले बताएको छ ।

उनले भने, ‘आवागमनमा समस्या हुने भएकाले संक्रमित युवासँगै स्वाब पनि पठाउँ भन्ने कुरा भएकोले ढिलो भएको हो । आज लिएको स्वाब भोलि पठाउन मिल्ने रहेछ ।’

संक्रमितको सम्पर्कमा आएका मानिसहरुलाई तीन भागमा विभाजन गरिएको छ– प्रत्यक्ष सर्म्पक भएको, छिमेकीहरु र यदाकदा सम्पर्कमा आएका व्यक्तिहरु । तीनैथरीको स्वाब संकलन गरेर पठाउने गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक जयकुमार राईका अनुसार शुक्रबार पहिलो चरणमा १४ जनाको स्वाब संकलन गरिएको छ । ७ जनाको आरडीटीबाट परीक्षण गर्दा सबैको नेगेटिभ आएको छ ।

संक्रमित युवा साउदीबाट फागुन ३० गते हिमालयन एयरलाइन्सको फ्लाइटबाट काठमाडौं ओर्लिएका थिए । त्यसपछि उनी काठमाडौंबाट सुनसरी हुँदै चतराबाट बसमा चढेर धरान पुगेका थिए । परिवारसहित मावली धरानमा बसेका थिए । सुनसरीपछि उनी चैत ९ गते उदयपुरको मैनामैनीमा रहेको ससुराली गएका थिए । चैत ११ गते बिहान उनी स्थानीयको मोटरसाइकलमा भोजपुर र उदयपुरको सिमाना दूधकोशीको चुहारसम्म गएका थिए । त्यहाँबाट हतुवागढी गाउँपालिका ९ हसनपुरको बार्ताङसम्म आएका थिए ।

गाउँ आएपछि सामूहिकरुपमा भलिबल खेल्ने, एक गाउँबाट अर्को गाउँ जाने गरेकाले थप अरुको समेत परीक्षण गर्नुपर्ने भएको गाउँपालिकाले जानकारी दिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका नाकाहरु पूर्णरुपमा सिल गरिएको छ ।

प्रकाशित : वैशाख १२, २०७७ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?